भयरहित हुनुपर्छ स्थानीय तहको चुनाव

स्थानीय जनमत बुझ्नको लागि दलहरूले स्थानीय कार्यक्रम, गोष्ठी, आमसभा र कार्यकर्ता भेलालाई तीव्र बनाएका छन् ।

के गर्ने हरेक व्यवस्था चुन्ने नै यहि जनता । काम हुँदा खुसी हुने अनि नहुँदा गाली गर्ने उही सँस्कार हो मैले सिकेको अनि सिकाएको । रोजेको प्रजाको तन्त्र नै हो अनि म लगायत हामी अहिले बेखुसी हुँदैछौँ । कीनकी प्रजाको तन्त्र भन्दापनि नेतागणको तन्त्रले प्रभूत्व जमाउन गएको छ । तर, त्यसको पछाडि एउटा झुट पछ्याइरहेका छौँ हामी, त्यो हो प्रजानै नेतृत्वमा पुगेको भन्ने । विद्यमान संरचनागत् संघीयतालाई पनि जानाजान बिर्सिएका छौँ । भन्न छाडेका छैनौँ राजनीतिक दलहरूको दबदबाले देश खोक्रो भयो भनेर ।

तोकिएको निर्वाचनको मिति नजिकँदो छ । निर्वाचन आयोग, सरकार युद्धस्तरमा कार्यरत् देखिन्छ तर राजनीतिक दलहरू आफैँ तयारमा नदेखिनु हाँस्यास्पद छ । चुनाव हुने अनि काम नहुने मुलूकमा अनेकन समस्यालाई देखाउँदै यसपटकपनि समयमै स्थानीय चुनाव नहुने छाँट् देखिसकिएको छ । सहमती नजिक पुग्ने अनि च्यातिने दिनहुँ समाचार बनिरहेका छन् । नयाँ नयाँ दलहरूको आगमन बढेको छ । चुनावमा भाग लिन नपाएपनि अनेक झ्वाँकहरू बजारमा व्याप्त छ । लाग्छ दल खोल्दा खोजेर आउँछन् जस्तो । यही नै हो प्रजातन्त्रको प्राप्ति हाम्रो नेपालमा ।

नियुक्त हुने स्थानहरूमा देखिएको दलहरूको खिचातानीले कोहिको प्रवेशमै गन्ध आउन थालेको छ । चुनावी हल्लाले नेतृत्व चुम्न खोज्नेको लर्को उत्तिकै फस्टाएको छ मानौँ तालाचावी मनलागी प्रयोग गर्न मिल्छ । हुन पनि हो नयाँ संरचनाले अधिक अधिकार स्थानीय क्षेत्रलाई नै सुम्पनाले चाहनामा भिड लाग्नु स्वभाविक बनेको छ । स्थानीय जनमत बुझ्नको लागि दलहरूले स्थानीय कार्यक्रम, गोष्ठी, आमसभा र कार्यकर्ता भेलालाई तिब्र बनाएका छन् । जनतापनि बढेको सक्रियतामा हैँसेमा हैँठे गरेको अवस्था छ । बजारमा कुनदलले कुन स्थान ल्याउँछ भनेर घम्साघम्सी बढ्न थालेको छ । झण्डै दुई दशकमा हुन लागेको राजनीतिक पर्वलाई स्थानीयले बढो उत्सुक्तापूर्वक हेरेको कारणपनि चुनावी बाजा बझ्न थालिसकेको छ ।

अंकगणितीय आँकलनहरू गर्न थालिसकिएको छ । अघिल्लो संविधान सभाको चुनाव र पूरानो दलको आधारमा नेपाली काँग्रेसलाई पहिलो जनमत जानसक्ने आधारहरू प्रशस्त देखिन्छ । दोश्रो एमाले, तेश्रो माओवादी केन्द्रको तह नेतृत्व आउने आँकलन गर्न थालेका छन् जनताहरू । आखिर यस्तो होला त ! एमाले किन प्रथम बन्न सक्दैन ? माओवादी केन्द्र प्रथम बन्नसक्ने अवस्था छँदैछैन त ! राप्रपा र अन्य दलको उचो अवस्था किन छैन ? प्राविधिक पक्षलाई ख्याल राखेको खण्डमा अवस्थामा परिवर्तन आउन र ल्याउन सक्षम बन्ने कुरामा यदी दलहरू गम्भीर बन्न सकेको खण्डमा यो अँकगणित सरासर झुट हुनेछ । तर, यो अवस्थाको जानकारीबाट पण्डितहरू टाढा नभएको सन्दर्भमा यहि तथ्य निर्णय बन्ने पक्का देखिन्छ ।

चुनावको मिति जति नजिकँदैछ त्यति नै सुरक्षाको चुनौति थपिँदै गएको छ । अनेक बहानामा आफूभन्दा ठूलो कोहीछैन भन्ने यो समयमा झडप, अपहरण र हत्याको उत्तिकै खतरा देखिन्छ । एकले अर्कालाई आक्षेप लगाउँदै निशेधको राजनीति बढ्दै गएको यो परिवेशमा प्रजातान्त्रिक सुरक्षा व्यवस्थाले समस्या पन्छाउन नसकेका घटनाहरू हामीमाझ ताजै छन् । सुरक्षित अवतरणमा सबै पक्षहरूले प्रयास गर्दागर्दै पनि एकै डुंगामा सयर गर्न नसकेपछि कोहि यात्रामा निस्केका छन भने केहि लिंडे ढिप्पीमा बसीरहेका छन् । बस्नेको गतिविधिमा भएको असन्तुलित वातावरणले गर्दा चुनावी सुरक्षा अवस्थामा असर पुग्ने स्पष्ट देखिएकोे छ । यसले गर्दा उमेद्वार, सर्वसाधारण, विपक्षी अनि सरकार र सरोकारवालाहरूमा हिंसात्मक झड्काको गन्ध पसिसकेको छ । जसमा केहीले घुमाउरो तरिकाले भन्दैछन् त प्रायः चुप नै छन् । एकपक्ष निकासको लागि गठन भएको सरकारले चुनाव गराउनु वाध्यकारी अवस्था छ भने अर्कोपक्ष निश्पक्ष र भयरहित दुइ मुद्दाहरू ढुंगे पर्खाल बनेर अगािड झुल्किरहेका छन् । सामाजिक सञ्जालमा प्रचारको शैली एकदमै अराजक भएर आएको छ, जुन चुनौतिको पहाड बनेको छ ।

सुरक्षाको गहन विषयमा केन्द्रीत भएजस्तो देखिएपनि त्यसलाइ नै हतियार बनाउँदै गएका अर्का चुनाव बहिष्कार समुह आफ्नै विषयमा अडिग छन् । पछिल्लो समयमा नेपालमा बढेको अहमताको चैटोले अहिले झनै बिकराल रुप लिएको छ । कहिले एता अनि कहिले उत्ता, प्रसंगमात्र फरक शैली पूरानै । जे भएपनि जुहारी चालु हुँदैगर्दा थोरै समयपछि हुन लागेको चुनावमा सरोकारवालाहरूलाइ सुरक्षीत अवस्थाको निर्माण गर्नु राज्यको दायित्व हो । यसको लागि जित र हारको साहरा भन्दापनि राजनैतिक अधिकार र व्यक्तिगत स्वतन्त्रतालाई महत्व दिन कसैले भुल्नुहुँदैन । तर यो अवस्था अहिले देखिँदैन, आ-आफ्नै स्वार्थमा चुनावमा होमिएका नेताले आफ्नैमात्र हेर्ने गलत परम्परा हाबी हुँदै गएको छ ।

राष्ट्र निर्माणमा सबैको उत्तिकै भूमिका रहनाले गर्दा कोहिपनि यस अवस्थाभन्दा बाहिर जान मिल्दैन । तर पनि केही समूहको असहमतिका बावजुद् हुन लागेको यो चुनावमा सर्वसाधारणको सुरक्षासँग धेरै प्रश्नहरू गाँसिन पुगेका छन् । यी दुईपक्षहरूको लिँडे ढिपीले नयाँ अदृश्य शक्तिको आगमनमा हावा भरिदिने काम गरेका छन् । ठुला नेताहरू आफ्नै दुनियाँमा रमाउनाले जुन मुद्दामा साझा सहमतिमा पुग्नुपर्नेथियो त्यो गर्न सकेनन् । फलत् भयरहित चुनावको अवस्था हामीबाट टाढा हुन गयो । आकस्मीक घटनालाई आकंलन नगरी सोझो पारामा अगाडि मात्र हेरियो भने सर्वसाधारण जनता मतदान प्रक्रियाबाट बाहिरिन सक्दछन् । यसले यतिका वर्ष पछाडि हुन लागेको स्थानीय चुनावमा तुसारो पारिदिएको छ । यसका लागि नमिल्दा समूहसँग वार्ता गरेरै भएपनि चुनावलाई सुरक्षित रुपमा अवतरण गराउनैपर्ने अवस्था सरोकारवालासँग छ ।

यसकारण चुनाव सँगै उठेको सुरक्षाको मुद्दालाई चाँडो भन्दा चाँडो किनारा लगाउनु पहिलो आवश्यकता हो । “काग कराउँदै गर्छ पीना सुक्दै गर्छ” भन्ने शैलीलाई हटाएर “पहिला काम अनि माम” भन्ने कुरालाई यथाशक्य छिटो अँगिकार गर्नु जरुरी भइसकेको छ । अनि मात्र तपाइँ हामीले सोचेको जस्तो निश्पक्ष वातावरणमा योग्य उमेद्वारको चयनमा वाधा अवरोध नआउने परिस्थिति निर्माण हुनेछ । जसले निर्भिक रुपमा जनताहरू चुनावमा सारिक हुन बल पुग्नेछ । परिकल्पनालाई विपनामा बदल्ने यो अवसरलाई सम्मानको रुपमा ग्रहण गर्ने अवस्था सृजना गरिनुपर्छ । यदि सुरक्षित परिस्थिति निर्माणको आधारहरूलाई जनतामाझ प्रस्तुत गर्न सके मात्र सरकारको कार्यशैली र सुरक्षाको ग्यारेन्टीपनलाई विश्वास गर्न सकिन्छ । तर यसो नभएको खण्डमा भन्नैपर्ने हुन्छ, के चुनाव सुरक्षित छ ? कति प्रतिशत जनता सामेल हुने वातावरण हुन्छ ? । तसर्थ, यस सवाललाई निर्मुल पार्न सक्नु नै चुनावी सुरक्षा तथा भयरहित अवस्थाको प्रत्याभूति दिनु हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: