इश्वर पोखरेलको दाबी-‘भित्र भित्रै चुनावको तयारीमा मधेसी मोर्चा’

निर्वाचन गराउन नदिने भन्नेहरु फासिस्ट

धनकुटा, चैत १९ । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचन गराउन नदिने भन्नेहरु फासिस्ट चरित्रको भएको आरोप लगाएका छन् ।

शनिबार बिहान प्रेस चौतारी नेपाल धनकुटाले सदरमुकाममा गरेको पत्रकार भेलामा पोखरेलले उनले निर्वाचन जुनसुकै हालतमा पनि हुने दाबी गर्दै चुनावबाट भाग्नेले सदाका लागि आफ्नो हैसियत गुमाउने बताएका हुन् ।

मधेसी मोर्चाले द्वैध चरित्र देखाएकोले समस्या आएको पोखरेलको भनाई थियो । मधेसी मोर्चाकै कार्यशैलीले स्थानीय चुनाव हुन्छ कि हुँदैन भन्ने आशंका जन्मिएको भन्दै उनले भने- मधेसी मोर्चा एकातिर निर्वाचनमा भाग नलिन भन्ने र अर्कोतर्फ भित्रभित्रै निर्वाचनमा होमिने तयारी गरिसकेको आफूले सूचना पाएको छु ।’

संविधान प्रभावकारी कार्यान्वयनका लागि पनि निर्वाचन अपरिहार्य भएकोले सबैपक्ष यसमा जुट्न उनले आग्रह गरे । केन्द्रको अधिकार जनतामा पुग्ने महत्वपूर्ण बाटो निर्वाचन भएकोले यसको महत्व रहेको पोखरेलले बताए ।

नेता पोखरेलले संविधान संशोधन बेमौसमी बाजा भएकोले यसको औचित्य नभएको बताए । ‘प्रदेश सीमा हेरफेर प्रदेशसभाले मात्र गर्न सक्छ, यस्ता विषयमा मधेसी मोर्चाले अलमल गर्नुहुँदैन,’ पोखरेलले सुझावको शैलीमा भने ।

एमालेका महासचिव पोखरेलले आफ्नो पार्टीविरुद्ध डरलाग्दो गुटबन्दी भएको आरोप लगाए । चारैतिरबाट एमालेविरुद्ध मोर्चाबन्दी गरिएको भन्दै उनले यसबाट आफ्नो पार्टी रत्तिभर नआत्तिएको उनले बताए ।

उनले भने– ‘स्वतन्त्र विद्यार्थीको निर्वाचनदेखि स्थानीय तहको निर्वाचन आइपुग्दासम्म विभिन्न दलले चरम गुटबन्दी गरेका छन, फलेको रुखमा सबै ढुङ्गा हान्छन् ।’ अविचलित यात्राले लक्ष्य चुम्ने उनको दाबी थियो । ‘एमाले माथि जति गुटबन्दी र मोर्चाबन्दी हुन्छ, उति आफूहरु संगठित हुन बल पुग्ने छ’ उनले भने, ‘कमजोर मनस्थिति भएकाहरु गुटबन्दी गर्छन् ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: