सीमांकनको विषय संघीय अायोगबाट टुंग्याइने गरी सरकारले नयाँ संशोधन प्रस्ताव ल्याउने प्रचण्डको खुलासा

काठमाडौं, चैत १९ । सीमांकन बाहेकका मुद्दालाई चुनावअघि नै संशोधन गरी निर्वाचनमा जान मधेसी मोर्चासँग समझदारी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलासा गरेका छन् ।

नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘सीधा कुरा प्रधानमन्त्रीसँग’को कार्यक्रममा जनताका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले संविधानको जटिलता तत्काल अन्त्य हुने बताएका छन् ।

सीमांकनको विषयलाई संघीय आयोगमार्फत टुंग्याउने र बाँकी विषय संशोधन गरी चुनावमा जाने समझदारी भएको खुलासा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘भाषा, नागरिकता, राष्ट्रिय सभा निर्वाचनलगायतका विषय अहिले नै टुंग्याउने सहमतिमा पुगेका छौं ।’

प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चा निकै लचक भएको र चुनावमा सबै दललाई समेट्न सरकारले अधिकतम प्रयास गरिरहेको बताए । ‘छिट्टै हामी सबै विषयमा सहमति गरी चुनावमा मात्रै पुरै केन्द्रित हुन्छौं’ उनले भने ।

अहिलेको संशोधनका तीनवटा विषय र संघीय आयोगको नयाँ कुरा थपेर नयाँ संविधान ल्याइने प्रधानमन्त्री प्रचण्डले बताए ।

देशलाई पूर्ण रुपमा चुनावमा लैजाने र संविधानको सफल कार्यान्वयन गर्न सरकारले थालेको प्रयासमा प्रतिपक्षी एमालेले पनि सहयोग गर्ने विश्वास उनले बताए ।

मोर्चा र सरकारबीच सहमति भएअनुसार सहयोग गर्ने सकारात्मक जवाफ एमाले नेताहरुले दिएको प्रधानमन्त्री प्रचण्डले भने ।

निर्वाचनको मिति तय भइसकेकाले अब मिति परिवर्तन नहुने प्रधानमन्त्री प्रचण्डले बताए । पुनःसंरचना आयोगको प्रतिवेदनमा २ नम्बर प्रदेशका केही जिल्लामा स्थानीय तहको सीमांकन हेरफेर हुने अवस्थामा केही जिल्लामा अर्कै मितिमा चुनाव हुन सक्नेसमेत प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । तर सकेसम्म देशैभरी वैशाख ३१ मै चुनाव गर्न पहल भइरहेको उनको भनाई थियो ।

‘मधेस पनि चुनावमा होमिसकिएको छ । २१ र २२ गतेभित्र समझदारी भए सबै क्षेत्रमा वैशाख ३१ मै चुनाव हुन्छ’ उनले भने ।

एक अर्काे प्रश्नमा प्रधानमन्त्री प्रचण्डलेउ दुई छिमेकी चीन र भारत एक अर्कालाई काखी च्याप्ने भन्दा पनि दुवैसँग सुमधुर सम्बन्धको विकास गरेर नेपालले फाइदा लिनेतर्फ जोड दिइएको बताए ।

कमेन्ट गर्नुहोस्