धुर्मुस सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मान गरिने, घर बनाउन १० लाख नगद दिने

बिर्तामोड, चैत  २० । भूकम्प पीडितको घर बनाउँदै अाएका सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई  उत्कृष्ट नागरिक सम्मान २०७३बाट सम्मानित  गरिने भएको छ । अागामी वैशाख ३ गते बिर्तामोडमा विशेष कार्यक्रममा वीरता जेसीजले धुर्मुस-सुन्तलीलाई सम्मान गर्नुका साथै घर निर्माण अभियानमा अनुकरणीय योगदान गरेबापत १० लाख रुपैयाभन्दा बढी नगद हस्तान्तरण गर्ने  संयोजक विनोद बस्नेतले जानकारी दिए ।

शनिबार बिर्तामोडमा आयोजक समिति सहित झापाका उद्योगी, व्यवसायी, समाजसेवी, संघसंस्थाका प्रतिनिधिहरु बसेको बैठकले झापालीको तर्फबाट अधिकतम आर्थिक सहयोग जुटाउने निर्णय गरेको वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले बताए ।

वीरता जेसीज र भूतपूर्व अध्यक्षहरुको अगुवाईमा हरेक वर्ष एक झापाली नागरिकलाई उत्कृष्ट घोषित गर्दै सम्मान गर्दै आएको छ । यो वर्षको कार्यक्रम अलि फरक र उत्कृष्ट बनाउन लागिएको बताइएको छ ।

भूकम्प पीडित असहाय गरीबको घर निर्माणमा धुर्मुस-सुन्तली फाउण्डेशनले मूख्य भूमिका निभाउन सफल भएका कारण आम झापालीको तर्फबाट पनि सहयोग पुर्याउन उत्कृष्ट नागरिकको रुपमा उनीहरुलाई सम्मान गर्न लागिएको वीरता जेसीजका अध्यक्ष सञ्जु भारतीले बताए ।

उक्त अभियानमा सहयोग गरिदिन आयोजकले झापाका उद्योगी, व्यवसायी, समाजसेवी, संघसंस्था, दानवीर सवैमा आह्वान गरेको छ ।

सम्मानपत्र, स्वर्ण पदक सहित धुर्मुस-सुन्तलीको अभियानमा सहयोग र उर्जा प्रदान गर्न करिब १० लाख रुपैयाँ प्रदान गरिने संयोजक बस्नेतले बताए ।

मानवीय सेवामा झापालीको योगदान समर्पित गर्न उक्त कार्यक्रममा प्रदान गरिने रकम सहयोग गर्नका लागि सबै दाताहरुमा वीरता जेसीजले आह्वान समेत गरेको हो । दाताहरुले वीरता जेसीजको संयोजनमा उक्त रकम सोझै कार्यक्रममा उपस्थित भएर धुर्मुस–सुन्तलीलाई हस्तान्तरण गर्न सक्ने तथा उनीहरुको फाउण्डेशनमा नाम लेखाउन सकिने व्यवस्था मिलाएको बताइएको छ ।

‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने यथार्थ आत्मसात गरी भूकम्प पीडितको घर निर्माण टेवा पुर्याउन गर्न लागिएको कार्यमा सहयोग पुर्याइदिनुहुन सबै झापाबासीमा आह्वान गर्दछौं’– संयोजक बस्नेतले भने– ‘अभियानमा सहयोग प्रदान गरिदिन सबैमा अनुरोध गर्दछौं ।’

‘उत्कृष्ट नागरिक सम्मान कार्यक्रम आम झापालीको साझा र गौरवपूर्ण कार्यक्रम हो’– संस्थापक अध्यक्ष बस्नेतले भने– ‘वीरता जेसीज र यसका भूतपूर्व अध्यक्षहरुले अगुवाई गरे पनि यो कार्यक्रम झापाका १४ वटै जेसीज शाखा तथा आम झापालीले अपनत्व ग्रहण गर्ने कार्यक्रमको रुपमा अघि बढाउँदैछौं ।’

बस्नेतको अगुवाइमा सन् १९८१ मा स्थापित वीरता जेसीजले २०५२ सालबाट उत्कृष्ट नागरिक सम्मानको परम्परा शुरु गरेको हो ।

पहिलो पटक सम्मान समारोहको संयोजक बस्नेत थिए । समाज पविर्तनका लागि विशिष्ट योगदान पुर्याउने उत्कृष्ट व्यक्तित्वको छनौट गरी सम्मानका साथै त्यस्ता व्यक्तित्वले गरेका असल कार्यको अनुकरणका लागि अरुलाई पनि प्रेरित गर्न यस्तो परम्पराको थालनी गरेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्