आकाशियो शेयर बजार, डेढ घण्टा अगाडि बजार बन्द

साताको पहिलो दिन खुलेको शेयर बजार कारोबार समय भन्दा साढे एक घण्टा अगाडि नै बजार बन्द भएको छ । १ बजेर ४० मिनेटमा ५ प्रतिशतले बजार बढ्दा आजको कारोबार स्थगित भएको हो । यसअघि १२ बजेर ५७ मिनेट जाँदा ४ प्रतिशतले बजार बढ्दा ३० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यसपछि अर्को एक घण्टा नबित्दै बजार पाँच प्रतिशतले बढ्दा १ बजेर ४० मिनेट जाँदा दोस्रो सर्किट ब्रेकसँगै आजका लागि बजार बन्द भएको हो ।
बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी ४ गुणाको बढाउने निर्णय शुक्रवार सार्बजनिक गरेपछि भएको पहिलो दिनको कारोबारमा दुईपटक सर्किट लागेर कारोबार बन्द गर्नु परेको हो ।
आज नेप्से परिसूचक ७९.७७ अंकले बढेर १६६७.११ को बिन्दुमा पुगेको छ । बजार ७९ अंकले उक्लिदा बीमा समूहमा ७३३.३७ अंक, बैक समूह ७०.६, विकास बैंक समूह ८८.१३, हाइड्रोपावर समूह ६८.९१, फाइनान्स समूह १६.७५, उत्पादन समूह ३१.०९ र अन्य समूह ७.८१ अंकले बजार बढेको छ । आज बीमा समूहका अधिकांश कम्पनीको शेयर मूल्य १० प्रतिशतको हाराहारीले बढेको छ ।


बीमा समूह अन्तर्गतका नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, लाईफ इन्स्योेरेन्स कर्पोरेशन, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै प्राइम लाईफ, प्रेसुडेन्सियल इन्स्योरेन्स, गुराँस लाईफ, प्रभु इन्स्योरेन्स, नेशनल लाईफ लगायत अन्य अधिकांश इन्स्योरेन्स कम्पनीको शेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । यस दिन कारोबार भएको १३२ कम्पनी मध्ये ९ वटा कम्पनीका शेयर मूल्यमा कमी आएको छ । यस दिन बीमा कम्पनीको ३१ करोड ७८ लाखको कारोबार भएको छ ।

१३२ कम्पनीको ९४ करोड ३७ लाख ५९ हजार ४२९ रुपैयाँको १६ लाख ४५ हजार १४९ कित्ता शेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको शेयर किनबेच भएको छ । कम्पनीको ९ करोड ४४ लाख भन्दा बढीको शेयर किनबेच भएको छ । त्यस्तै सानिमा बैंक लिमिटेडको ७ करोड ५७ लाखभन्दा बढीको शेयर खरिद बिक्री भएको छ ।

आज बजारमा कारोबार भएका सबै समूहमा हरियाली छाएको छ । कारोबार भएका समूहमध्ये बीमा समूह सबैभन्दा बढी अंकले बढेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: