नयाँ शक्तिका केन्द्रिय सहसंयोजकसहित ३० जना गच्छदारको पार्टीमा प्रवेश

काठमाडौँ, चैत २० । डा. बाबुराम भट्टराई प्रहरी थुनामा रहेकै बेला नयाँ शक्ति नेपाल पार्टीका सह संयोजक महेश कर्मोचासहित ३० जना केन्द्रीय परिषद् सदस्य विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन् ।

पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच अध्यक्ष गच्छदारले उनीहरुलाई टिका लगाउँदै पार्टीमा प्रवेश गराएका हुन् । कर्मोचालाई गत असारमा नयाँ शक्तिले सह संयोजक बनाएको थियो । त्यसबेला सहसंयोजक तोक्ने विषयमा पार्टीभित्र विवाद भएको थियो । उनी काँग्रेसबाट नयाँ शक्तिमा प्रवेश गरेका थिए ।

कर्मोचासहित सचिवालय सदस्य देव लिम्बु र सीता श्रेष्ठ, केन्द्रीय परिषद् सदस्य रामेश्वर ढकाल, केदार शाक्य लालबहादुर अर्याल लगायत रहेका छन् ।

अनुशासनहिनता र अपारदर्शिता बढेको जनाउँदै नयाँ शक्ति नेपाल केन्द्रीय परिषद्का कार्यकारी सदस्य मुमाराम खनालले गत असोजमा सो पार्टी परित्याग गरेका थिए । त्यसपछि नयाँ शक्ति नेपालका आर्थिक नीति विभाग प्रमुख पूर्व अर्थ सचिव रामेश्वर खनालले चैत्रको पहिलो साता आफू कुनै पार्टीमा संलग्न नरहेको भन्दै बाहिरिएका थिए ।

एक बर्षअघि नेकपा माओवादी छाडेर नयाँ शक्ति नेपालमा लागेका धु्रव पराजुलीले आज नयाँ शक्ति छाडेका थिए ।

यता नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई भने नेपाल पुलिस क्लबमा हिरासतमा रहेका छन् । निर्वाचन चिन्हको माग गर्दै निर्वाचन आयोग घेराउ गर्न पुगेका उनीसहित ५० जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: