थारु भाषाको प्रयोगमा जोड

लोकेश धामी/ कैलाली, चैत २१ । कैलालीको धनगढी उपमहानगरपालिका–७ पटेलामा दुई दिनसम्म भएको थारु भाषा साहित्य मेलामा सहभागीले थारु भाषाको प्रयोगमा जोड दिएका छन् । जिब्रोले जे बोल्छ, त्यहि लेख्नु पर्ने भाषाशास्त्रको मान्यता अनुरुप आगन्तुक शब्द बाहेक थारुले आफ्नो उच्चारण अनुसारको शब्द लेख्नु पर्नेमा जोड दिइएको हो । आइतवार मेलाको समापन अवसरमा बोल्दै विज्ञ तथा साहित्यकारहरुले बोली अनुसारको शब्द लेखिएमा त्यहि नै थारु मानक भाषा बन्ने बताएका छन् ।

थारु भाषा व्याकरणाचार्य रहेको उल्लेख गर्दै संस्कृतिविज्ञ अशोक थारुले जिब्रोले बोल्ने शब्दलाई नै लेख्न आवश्यक रहेको औल्याए । उनले प्राथमिक शिक्षामा थारु समुदायका बालबालिकालाई दन्त्य शब्दको प्रयोगमा जोड दिंदा ती बालबालिकामा मानसिक असर परिरहेको बताए । मुलुकको विभिन्न जिल्लाबाट कैलालीमा जमघट भएका साहित्यकार तथा भाषाविदहरुले थरुहट क्षेत्रमा प्राथमिक कक्षासम्म थारु समुदायका बालबालिकालाई मातृभाषामा पढाउने व्यवस्था लागू गर्नु पर्नेमा जोड दिएका छन् ।

उनीहरुको जमघटले ८ बुँदे घोषणापत्र समेत जारी गरेको छ । घोषणापत्रमा थरुहट क्षेत्रमा प्राथमिक कक्षासम्म मातृभाषामा पढाई हुनु पर्ने उल्लेख छ । त्यस्तै, थरुहट क्षेत्रमा रहेको सरकारी कार्यालयमा थारु भाषालाई कामकाजी भाषाको रुपमा मान्यता दिनु पर्ने, थारु साहित्यकारहरुको क्षमता विकास गरिनुपर्ने, ओझेलमा रहेको थारु लोक साहित्यको खोजीका लागि राज्यले पहल गर्नु पर्ने लगायतका बुँदा समेटिएका छन् ।

थारु लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीले दुई दिनसम्म थारु मानक भाषा र थारु भाषाको प्रयोगबारे गम्भीर छलफल भएको जानकारी दिए । उनले कतिपय विद्यालयमा थारु मातृभाषामा पठनपाठन गराइने भनेर प्रतिबद्धता समेत आएको उल्लेख गरे ।

भाषा विज्ञानका विद्यार्थी रामबहादुर चौधरीले थारु लिपी बनेमा स्रष्टाहरुमा झनै निखारता आउने बताए । साहित्यिक मेलामा भाषाविद पदम राई, साहित्यकार सुशील चौधरी, रामलाल जोशी, दिलबहादुर चौधरी, सन्तराम धर्कट्वा थारु, चित्रबहादुर चौधरी, बालिका चौधरी लगायतले भाषा, साहित्यको बारेमा चर्चा गरेका थिए । थारु लेखक सङ्घ नेपालको आयोजनामा उक्त साहित्यिक मेला आयोजना भएको थियो ।

कमेन्ट गर्नुहोस्