पूर्वआईजीपीका नाति म्यादी प्रहरीमा

काठमाडौं, चैत २१ ।  म्यादी प्रहरीको आवेदन संकलन गर्ने क्रममा १७ बर्षीया पुजन बरालको तीनपुस्ते विवरण देखेपछि महानगरीय प्रहरी परिसर टेकुका प्रहरी अधिकारी केहीबेर अचम्ममा परे ।

त्यसको कारण थियो हजुरबुरबा नेपाल प्रहरीबाट अवकाशप्राप्त आईजीपी खड्कजित बराल र चिकित्सक आमाबाबुका छोरा पुजनले म्यादीमा आवेदन दिनु ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाला जोशी पनि पूर्वआईजीपी बरालका नाति पुजनले म्यादीमा आवेदन दिन आएको सुनेपछि आश्चर्यमा परे । पछि आफैं यसबारे जानकारी लिन गएपछि मात्रै एसएसपी जोशीलाई पत्यार लागेको थियो । अन्योल र कानेखुसीबीच टेकुस्थित काठमाडौं प्रहरीले पूर्वआईजीपी बरालका नाति पुजनको आवेदन दर्ता गरायो ।

उनी बैशाख ३१ गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा ५५ दिनसम्म म्यादी सुरक्षाकर्मीका रुपमा खटिने पक्का भएको छ ।

उनका बाबु डा. रञ्जित बराल बल्खुस्थित बयोधा अस्पतालमा मुटु रोग र आमा प्रा.डा. ज्योति बराल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रसुति तथा स्त्री रोग विशेषज्ञका रुपमा कार्यरत छन् ।

९० वर्ष पुग्नै लागेका पूर्वसांसद् तथा पूर्वराजदूत हजुरबुबा खड्गजितले आमा-बाबु वा हजुरबुबाको नाम तथा दामले नर्भइ सबैले आफ्नै मेहनत र परिश्रमले जीवन निर्वाह गर्नुपर्छ भन्ने पाठ सिकाउन नातिलाई म्यादी प्रहरीमा पठाएको बताए । 

यो खबर आजको कारोबारमा खबर छ ।

कमेन्ट गर्नुहोस्