‘डाक्टर’ बाबुराम र ‘क्रान्तिकारी’ बैद्यको नौटंकी

बाबुरामले बितण्डा मच्चाउनका लागि यो समग्र नौटंकी गरे । निषेधित क्षेत्रमा आन्दोलनकारीलाई उतारे, प्रहरीलाई गिरफ्तार गर्न भने, हिरासतबाट बाहिर ननिस्किने घोषणा गरे ।

भीष्म थापा/
आइतबारका दिन डा. बाबुराम भट्टराई चर्चाको शिखरमा पुगे । यता शेयर बजारमा सर्किट ब्रेक लागेको थियो, उता डा. भट्टराईको चर्चापनि त्यस्तै उछाल लिएको थियो ।
र, यो चर्चा बटुल्ने काम बाबुरामले आफैले गरेका थिए । आफ्नो योजनाबाट उनले आफू चतुर खेलाडी रहेको पुष्टि गरे ।
“बाबुराम भट्टराई गिरफ्तार” भन्ने समाचार अनलाइन मिडियामा सार्वजनिक हुँदा सबैका कान ठाडा भए । आलोचनाको चाङ लागेपनि बाबुराम भट्टराई धेरैले मन पराएका नेता हुन । खासगरी उनको विद्वताको सही सदुपयोग हुन सके यसले देश विकासमा राम्रो अवसर सिर्जना गर्न सक्छ भन्ने धेरैको मनमा छ । तर लगत्तै अर्को समाचार आएपछि भने बाबुरामको यो चर्चा नकारात्मक ग्राफतर्फ उल्टियो । अर्को समाचार गृह मन्त्रालयको श्रोतबाट सार्वजनिक भएको थियो । बाबुरामले आफूलाई गिरफ्तार गरी हिरासतमा नै आन्दोलन गर्ने योजना बनाएको सार्वजनिक भएको थियो । गृहसचिवलाई फोन गरेर आफूहरुलाई गिरफ्तार गर्न भनिएको थियो ।

सामान्यतः प्रहरीले आन्दोलनका क्रममा पक्राउ परेका प्रदर्शनकारीहरुलाई अवस्था हेरेर दुई चार घण्टामा छोड्ने गर्छ । त्यसमा पनि पूर्व प्रधानमन्त्रीलाई लामो समय हिरासतमा राख्न प्रहरीले चाहेको थिएन । तर बाहिर आम जनताको सहानभूति बटुल्न बाबुरामले हिरासत (या, आरामकक्ष– कम्तीमा पनि सार्वजनिक भएको तस्वीरले त्यही देखाउँछ)बाट बाहिर नआउने उद्घोष गरे । आम मानिसलाई सरकारले बाबुराममाथि ज्यादती गर्यो भन्ने परोस्, बढी भन्दा बढी प्रचार होस् भन्ने परेको हुनसक्छ उनलाई । उनीहरुले हिरासत मुक्त हुन मानेनन् ।

१० घण्टापछि उनीहरु बाहिर निस्किए । वैद्य समर्थकहरुले यो हिरासतको बसाईलाई पनि “नयाँ जनवादी क्रान्ति”सँग जोडे । बाबुरामसँग मिलेर चुनाव चिन्ह माग्न गरिएको आन्दोलन कुन अर्थमा नयाँ जनवादी क्रान्ति थियो, त्यसको परिभाषा त बैद्यले नै देलान् तर समग्रमा उनीहरुले आइतबारको प्रहसनलाई संघर्षको प्रतिकका रुपमा स्थापित गर्न खोजे । बाबुरामले निरंकुशताको बिरोधका अर्थमा यसलाई भजाउन खोजे । तर सार्वजनिक भएका तथ्य र तस्वीरले यो बाबुरामको नौटंकी भन्दा फरक केही थिएन भन्ने कुरा पुष्टि गरेको छ ।

बाबुराम भट्टराईलाई भिजन भएको नेता भनेर जसरी मानिसहरुले मानेका छन्, त्यही अर्थमा कुरा गर्दा उनलाई निर्वाचन आयोगको क्षेत्र प्रदर्शनका लागि निषेध गरिएको थियो भनेर पूर्व जानकारी थियो भन्न सकिन्छ । प्रधानमन्त्री भइसकेको व्यक्तिले एउटा निर्वाचन चिन्हको मागका लागि राज्यको कानुन तोडेर निषेधित क्षेत्रमा कार्यकर्ता हुल्नु नौटंकी नभएर के हो ? आन्दोलनको राजनीतिशास्त्रका बारेमा बाबुरामलाई कसैले बताइरहनु पर्दैन । संयुक्त जनआन्दोलन संयोजन समितिका संयोजकका रुपमा युवावयमा नै २०४६ सालमा उनले आन्दोलनको नेतृत्व गरेका छन् । उनलाई कुन मागका लागि कहाँ कसरी आन्दोलन गर्नुपर्छ भन्ने हेक्का नभएको होइन । तर बाबुरामले बितण्डा मच्चाउनका लागि यो समग्र नौटंकी गरे । निषेधित क्षेत्रमा आन्दोलनकारीलाई उतारे, प्रहरीलाई गिरफ्तार गर्न भने, हिरासतबाट बाहिर ननिस्किने घोषणा गरे । यो सबै उनले पूर्व योजना अनुसार रचेको एउटा प्रहसन थियो ।

राजनीतिकरुपमा अन्याय परेको अवस्थामा त्यसविरुद्ध संघर्ष पाउनु सबै नेपालीको संविधानप्रदत्त अधिकार हो । तर राज्यको कानुनले यस्ता संघर्षको पनि निश्चित मापदण्ड बनाएको हुन्छ । शक्ति नै छ भन्ने धाक भए बाबुराम भट्टराईले सयौं कार्यकर्तालाई आमरण अनसनमा बसाल्न सक्थे । रत्नपार्कमा अनसनमा बस्न सक्थे । डा. गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको एउटा कोठामा बसेर पवित्र मनले आन्दोलन गरे । पुरा देश उनको साथ भयो । उनलाई माइतीघरमा रहेको स्वास्थ्य मन्त्रालयमा चक्काजाम गर्नु परेन । न त स्वास्थ्य सेवा विभाग टेकुको सडक जाम गर्नुपर्यो । उद्देश्य सही हुने हो भने आन्दोलनका लागि निषेधित क्षेत्र नै तोड्नु पर्दैन । राज्यसत्ताकै विरुद्ध लड्ने अवस्थामा, व्यवस्था नै परिवर्तन गर्ने आन्दोलनहरुका लागि राज्यका नियम पनि मान्नु हुँदैन । त्यो क्रान्ति र जनआन्दोलन हो, त्यसले पुराना सबै कुरा निषेध गर्छ । तर बाबुरामहरुको चुनाव चिन्हको आन्दोलन त्यो कदापी पनि होइन ।
बाबुराम भट्टराईलाई मानिसहरुले विद्वान भन्छन् । हिजो माओवादी र अहिले नयाँ शक्तिमा पनि तुलनात्मकरुपमा उनी केही नयाँ भिजन भएका नेता हुन । तर नयाँ शक्तिको आन्तरिक संकटको छटपटिमा उनले यति तल्लोस्तरको नौटंकी गर्दा उनकै उचाई घटेर गएको छ । र, बाबुरामसँग बुर्जुवा राज्यसत्ताको चुनावका लागि एकता गर्र्दै संघर्षमा उत्रिएका वैद्यहरुको क्रान्तिकारीताको पनि यसले पर्दाफास गरेको छ । तर्कले जे ढाकछोप गरेपनि बाबुराम भट्टराई भनेका प्रतिक्रान्तिकारी हुन, उनीसँग जे अर्थमा कार्यगत एकता गरिएपनि त्यो क्रान्तिकारी हुनै सक्दैन ।
आइतबारको घटनाले के देखाउँछ भने शक्ति र सत्ताका लागि राजनीतिक दलहरुले जे पनि गर्न सक्ने रहेछन् । नैतिकता, इमान्दारिता, राजनीतिक एजेण्डा, मूल्य र मान्यता सबै त्यही शक्ति र सत्ता वरिपरि घुमेको छ । बाबुराम अहिले यही शक्ति र सत्ता नहुँदा छटपटिएका छन । यही छटपटिमा उनले बिभिन्न नौटंकीहरु गरिरहेका छन् । तर यसले उनको उचालिएको शेयर बजार कुनै पनि बेला खोल्चो ग्राफ बनाएर तल खस्छ भन्ने कुराका उनले हेक्का राख्नुपर्छ । राजनीतिमा सधैंभरी उही उचाई रहन्न । उनले अस्वीकार गरेका माओले भनेझै– राजनीतिक कार्यदिशाले सबै कुराको छिनोफानो गर्छ । प्रहसन र नौटंकीहरुले होइन ।

कमेन्ट गर्नुहोस्