डिपीएल खेल हेर्न अस्थायी प्याराफिट निर्माण

कैलाली, चैत २१ । धनगढीमा यही चैत २७ गतेदेखि सुरु हुन लागेको सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) को लागि अस्थायी प्याराफिट सहितको क्रिकेट मैदान तयार गरिएको छ । यहाँ स्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानलाई अन्तर्राष्ट्रिय खेल खेल्न सकिने मापदण्डको क्रिकेट मैदानमा परिणत गरिएको हो । तयार भएको मैदान अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको रहेको क्युरेटर अजयबहादुर पाण्डेयले बताए ।

गत माघ १० गतेदेखि नै मैदान निर्माण कार्य थालिएको थियो । विगत वर्ष सोही ठाउँमा भएको प्रतियोगितामा तीव्र गतिका बलरहरुलाई पिचले साथ नदिएको अवस्थालाई मध्यनजर गर्दै यो वर्ष सुधार गरिएको छ । यसपालि पिचमा घाँस छोडिएकाले तीव्र गतिका बलर र ब्याट्सम्यान दुवैले आफ्नो कला देखाउन पाउने क्युरेटर पाण्डेयले बताए । करिब ६० यार्डको मैदानमा घाँसको बुट्टेदार ‘कटिङ्ग’ गरिएको छ । यसकारण विगत भन्दा यो वर्ष मैदानको स्वरुपमा नयाँपन देखिएको छ । यसवर्ष तयार भएको मैदानले फिल्डरहरुलाई झन बढी साथ दिने धनगढी क्रिकेट एकेडेमीका प्रशिक्षक किसन महतले जनाए ।

नेपालमा टियु मैदानपछि यहाँ दोस्रो राम्रो मैदान तयार भएको उनको भनाइ छ । उक्त मैदानमा दुबो र जङ्गली घाँस रहेको छ । दुबो भन्दा जङ्गली घाँसको बृद्धि हुने दर दोब्बर रहेकाले प्रतियोगिताको बीचमै एकचोटी पुनः घाँस काटछाँट गरिने क्युरेटर पाण्डेयले जानकारी दिए । मैदानको उत्तर र पश्चिमतर्फ फलामको पाइप जोडेर अस्थायी प्याराफिट समेत बनाइएको छ । धनगढीको क्रिकेट इतिहासमा यो पनि एउटा नौलो प्रयोग हो । करिब तीन हजार दर्शक अँट्ने अस्थायी प्याराफिट निर्माण गरिएको प्रतियोगिताका संयोजक सुवाश शाहीले जानकारी दिए । विगतमा दर्शकहरु रुखमा समेत चढेर खेल अवलोकन गरेकाले उनीहरुको सुविधाका लागि यसवर्ष अस्थायी प्याराफिट बनाइएको उनले बताए ।

वैशाख ९ गतेसम्म सञ्चालन हुने डीपीएलमा मुलुकभरीबाट छ वटा टिमको सहभागिता भइरहेको छ । विनोद भण्डारीको कप्तानीमा कञ्चनपुर आइकनिक, ज्ञानेन्द्र मल्लको कप्तानीमा सीवाइसी अत्तरिया, पारस खड्काको कप्तानीमा टिम चौराहा धनगढी, शक्ति गौचनको कप्तानीमा रुपन्देही च्यालेञ्जर्स, बसन्त रेग्मीको कप्तानीमा काठमाण्डौं गोल्डेन्स र शरद भेषवाकरको कप्तानीमा विराटनगर किङ्ग्सले प्रतियोगितामा सहभागिता जनाइ रहेका छन् । नेपाली क्रिकेट टिमको सिनीयर तथा १९ वर्षमुनीका उत्कृष्ट गरी करिब ९० जना खेलाडी यो प्रतियोगिताका लागि छानिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल अनुभव बटुलेका खेलाडीहरु सहभागी यो प्रतियोगिताले मुलुककै क्रिकेटलाई थप उचाईमा पु¥याउने शाहीले बताए ।

प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य मुलुकको क्रिकेट विकासमा टेवा पु¥याउने र धनगढीमा निर्माणाधीन अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट रङ्शाला निर्माणमा सरोकारवालाको ध्यानाकार्षण गराउने रहेको छ । हाल सेती अञ्चल प्रहरी मैदानमा क्रिकेट ‘इभेन्ट’हरु हुने गरे पनि अन्तिम लक्ष्य भनेको फाप्ला मैदान निर्माणका लागि सरकारलाई दबाव दिने रहेको शाहीले बताए । डीपीएल प्रतियोगितामा टिकट बिक्री भएर सङ्कलित रकमको १५ प्रतिशत रुपिया ‘ड्रिम फाप्ला’ अभियानमा जम्मा गरिने जनाइएको छ । फाप्ला क्रिकेट मैदान निर्माणका लागि विगतबाटै यहाँ ‘ड्रिम फाप्ला’ अभियान सञ्चालन गरिएको छ ।

यहाँ हुने प्रतियोगिताले धनगढीको पहिचान कायम गर्नुका साथै यो क्षेत्रको आर्थिक क्रियाकलापमा टेवा समेत पु¥याउने आयोजकले अपेक्षा गरेको छ । खेलकुद मार्फत प्रदेशको समृद्धिमा सहयोग पुग्ने बताइएको छ । धनगढी क्रिकेट एकेडेमी र एसपीए कलेजको संयुक्त आयोजनामा हुन गइरहेको प्रतियोगितामा टी–२० खेल हुने जनाइएको छ । प्रतियोगिताको उद्घाटन खेल नेपाली क्रिकेट टोलीका सदस्यहरु सहभागी नेपाल–११ र यस क्षेत्रका उत्कृष्ट स्थानीय खेलाडी सहभागी टिम धनगढी–११ बीच हुनेछ ।

करिब एक करोड ६० लाख रुपियाको लागतमा हुन गइरहेको प्रतियोगिताको विजेता टोलीले नगद १५ लाख, उपविजेताले सात लाख र हरेक खेलका म्यान अफ द म्याचले १० हजार रुपिया पुरस्कार पाउनेछन् । यो प्रतियोगिताका लागि राष्ट्रिय स्तरमै बोलकबोलबाट खेलाडी छनोट गरिएको थियो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।

 

कमेन्ट गर्नुहोस्