कारागारमा रहेका बालकलाई शैक्षिक सामग्री प्रदान

खोटाङ, चैत २१ । जिल्ला कारागार खोटाङमा रहेका चार आश्रित बालकलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।

६० औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सक्रिय बचत तथा ऋण सहकारी, दिक्तेल बचत तथा ऋण सहकारी, लालुपाते बहुउद्देश्य सहकारी र खोटाङ दलित उद्यमी सहकारी संस्थाले आइतबार शैक्षिक सामग्री प्रदान गरेको हो।

सहकारीले कारागारमा आश्रित जीवन बिताइरहेका हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका दुई वर्षका रेसम राई, चार वर्षका सङ्गम राई, बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका पाँच वर्षका मौसम राई र बराहपोखरी गाउँपालिका–१ बराहपोखरीका डेढ वर्षका सञ्जय तामाङलाई किताब, कापी, कलम, पेन्सिल, कलर बक्सलगायतका शैक्षिक सामग्री प्रदान गरेको हो।

उनीहरुलाई सहकारीले खाजासमेत प्रदान गरेको छ। कारागारमा रहने बालबच्चाका लागि जिल्लामा कार्यरत पाँच सहकारी संस्थाले एक लाख चार हजार रुपैयाँको अक्षय कोषसमेत स्थापनाको घोषणा गरेको छ ।

अक्षय कोषबाट आउने ब्याजबाट जेलमा बस्ने बालबच्चाको लेखपढमा सघाउ पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गर्ने तयारी गरिएको दिक्तेल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नुरकाजी सैंजूले बताए ।

कमेन्ट गर्नुहोस्