कमलामाई नगरपालिकामा कसले बाजी मार्ला, यी हुन् मेयरका अाकाँक्षीहरु

सिन्धुली, चैत २१ ।

सरकारले घोषणा गरेको स्थानीय तहको चुनाव आउन ४० दिन वाँकी छ । सरकारले २५ वर्षपछि स्थानीय निकायलाई खारेज गरेर स्थानीय तहमा रुपान्तरण गरेको हो । १४ अञ्चल, ७५ जिल्ला र ३१५७ गाविसहरुलाई रुपान्तरण गरी ७४४ गाउँपालिका र नगरपालिका बनाएको छ । उक्त तहमा चुनाव गराउन बैशाख ३१ गते मिति तोकिएको छ । १८ वर्षदेखि हुन नसकेको परिवर्तित स्थानीय तहको चुनावको लागि विभिन्न पार्टीबाट आँकांक्षीहरु देखिएका छन् । सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा पनि सम्भावित मेयरको बारेमा चर्चा हुन सुरु भएको छ ।

डाडीगुराँसे, भद्रकाली, जलकन्या, रानीबास र रानीचुरी गाविस मिलाएर कमलामाई नगरपालिका बनाइएको हो । यस नगरपालिकामा कूल मतदाता ३८ हजार १ सय ४४ जना रहेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले दिएको तथ्याङ्कमा उल्लेख छ ।

साविकको कमलामाई नगरपालिकाको मतदाता २३०४० थिए । अब त्यसमा डाँडीगुराँसेबाट ३०६९, भद्रकाली गाविसबाट २७७०, जलकन्या गाविसबाट १३४९, रानीवास ३१२७ र रानीचुरीको ४७८९ मतदाता थपिएर अठतीस हजार एक सय चवालिस मतदाता भएका छन् ।

अठतीस हजार मतदाताको नेतृत्व हत्याउन दौडधुपमा खासगरी नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र र राप्रपा नेपाल मुख्य प्रतिस्पर्धामा रहेका छन् ।
दोस्रो संविधान सभा निर्वाचनमा माओवादी केन्द्र, एमाले र कांग्रेसले एक एक वटा निर्वाचन क्षेत्र जितेका थिए । कमलामाई नगरपालिकाले यसअघिको तीनवटै निर्वाचन क्षेत्र समेटेको कारण पनि दलहरुले विशेष तयारी गरेका छन् । माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्व कृषिमन्त्री हरिबोल गजुरेलको प्रभावको फाइदा लिने माओवादीले योजना बनाएको छ भने कांग्रेस पहिलोपटक मेयरमा विजय हुने लक्ष्यमा रहेको छ । यसअघि सोही नगरपालिकामा विजयी भएको एमाले फेरि जीत दोहोर्याउने अभियानमा लागेको छ । एमालेलाई उसको साँगठनिक मतको बलियो साथ रहेको दाबी गरेको छ । माओवादी केन्द्र लोकप्रिय नेतालाई मेयरको टिकट दिएर प्रचण्ड नेतृत्वको सरकारले गरेको काम प्रचार गर्ने योजनामा रहेको छ ।

पूर्वको रोल्पा भनेर चिनिने सिन्धुली र यसको सदरमुकाममा रहेको नगरपालिकामा धेरैले आफ्नो इच्छा देखाएका छन् ।

नेपाली कांग्रेस
कमलामाई नगरपालिकाको मेयरको दौडको पहिलो नम्बरमा उपेन्द्र पोखरेल रहेका छन् । कमलामाई वडा नम्बर ४ निवासी पोखरेल सोही नगरपालिकाको सस्थापक निर्वाचित वडाअध्यक्ष समेत हुन् ।

कांग्रेसबाट सो नगरपालिकाको मेयरका आकांक्षीमा दीपक घिमिरे पनि रहेका छन् । वडा नम्बर ५ निवासी घिमिरे कांग्रेस जिल्ला पार्टी सचिव हुन् । उनी सिड नेपाल संस्थाका अध्यक्ष पनि हुन् । पार्टीकै जिल्लाको सचिव रहेका कारण उनले टिकट पाउने कतिपयले विश्लेषण गरेका छन् ।
मीनबहादुर श्रेष्ठ उद्योग वाणिज्य संघ सिन्धुलीका पूर्व अध्यक्ष हुन् । यिनी व्यबसायी भएका कारण कांग्रेस पार्टीभित्र केही प्रभाव पार्न सफल छन् । मेयरका लागि कांग्रेसका कतिपय नेता यिनको लविङमा लागेका छन् ।

एमालेबाट
खड्ग खत्री: यिनी एमालेका पूर्व अञ्चल कमिटि सदस्य हुन् । कमलामाई नगरपालिका ६ नम्बर वडाका स्थायी बासिन्दा खत्री दोस्रो संविधानसभा निर्वाचनमा सभासदको आकांक्षी भएपनि एमालेले उनलाई स्थानीय चुनावको टिकट दिने आश्वासन दिएर राखेको थियो । माधबकुमार नेपाल पक्षका रुपमा चिनिएका खत्री प्रमुख दाबेदार रहेका छन् ।

विनोद खड्का: एमालेका जिल्ला कमिटी सदस्य रहेका खड्का उक्त नगरपालिकाको वडाअध्यक्षमा निर्वाचित रहेका थिए । केपी ओली गुटका रुपमा चिनिने खड्का केन्द्रमा रहेको ओलीको प्रभावका कारण टिकट पाउने दाबी गर्छन ।

महेन्द्रदेव श्रेष्ठ: यिनी एमालेको सिन्धुली जिल्ला कमिटिका उपसचिव हुन् । यिनी पनि केपी ओली गुटमा रहेका छन् । नेवार समुदायका भएका कारण यिनलाई त्यहा रहेका व्यावसायिको साथ रहेको छ ।

माओवादी केन्द्र
माओवादी केन्द्रका तर्फबाट कमलामाई नगपालिकामा राम थापाको नाम अग्रस्थानमा आएको छ । लामो समय वामपन्थी राजनीति गरेका यिनी २०४८ सालमा गाविसको अध्यक्ष निर्वाचित भएका थिए । ०५४ सालमा कमलामाई नगरपालिकाको क्षेत्र अन्तरगत पर्ने जिविस सदस्य जितेका थिए ।

हाल माओवादी केन्द्र केन्द्रीय आयोजक कमिटि सदस्य रहेका थापा सिन्धुलीका प्रभावशाली समाजसेवीका रुपमा परिचित छन् । कमलामाई नगरपालिकाको तत्कालीन नौ नम्बर वडाका स्थायी बासिन्दा थापा पार्टीले मेयर पदमा टिकट दिएमा जनताले साथ दिने बताउँछन् ।

अम्मरदीप देवकोटा– तत्कालीन सिद्धेश्वर गाउँपंचायतको अध्यक्ष रहेका देवकोटा अध्ययनशील नेता हुन् । मास्टर्स डिग्री गरेका यिनी पूर्व शिक्षक पनि हुन् ।

सावित्री श्रेष्ठ – जनयुद्धको क्रममा राज्यद्वारा बेपत्ता परिएका चित्रनारायण श्रेष्ठको श्रीमती हुन् । माओवादी केन्द्रीय सदस्य रहेकी श्रेष्ठ पनि कमलामाई नगरपालिकाको मेयर पदकी आकांक्षी छिन ।

रसबहादुर कार्की– माओवादी केन्द्रबाट रसबहादुर कार्की पनि मेयरको दौडमा रहेका छन् । उक्त नगरपालिकाको उपमेयर बनिसकेका कार्की पार्टीभित्र भन्दा पनि नगरपालिकाका स्थानीयसँग बढी परिचित छन् । तर, उपमेयर हुँदा उनले खासै उल्लेख्य काम नगरेको भनेर उनको आलोचना भएको थियो । हाल माओवादी केन्द्रको केन्द्रीय सदस्य रहेका छन् ।

कमेन्ट गर्नुहोस्