गच्छदारले पार्टीको नाम फेर्ने, अब नेपाल लोकतान्त्रिक फोरम

काठमाडौं, चैत २१ । विजय गच्छदारले आफ्नो पार्टीको नाम परिवर्तन बताएका छन् । उनले पार्टीको नाममा रहेको मधेसी शब्द हटाएर नेपाल लोकतान्त्रिक फोरम राखिने जानकारी दिए । उपेन्द्र यादवसँगको फुटपछि गच्छदारले मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नाम राखेर नयाँ पार्टी खोलेका थिए ।

राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष गच्छदारले पार्टीको नामबाट ‘मधेसी’ शब्द हटाएर त्यसको सट्टा ‘नेपाल’ राख्ने जानकारी दिएका हुन्।

अाइतबार नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय सहसंयोजक देव लिम्बुसहित ३० जना गच्छदारको पार्टीमा प्रवेश गराएपछि उनले मधेशी पार्टीको नाम परिवर्तन गर्न लागेको बताए ।

तर, त्यसको अन्तिम निर्णय केन्द्रीय समितिको बैठकबाट हुने उनले जनाए ।

पार्टी कार्यसम्पाद समिति सदस्य योगेन्द्र चौधरीले आगामी केन्द्रीय समितिको बैठकबाट पार्टीको नाम फेर्नेबारे औपचारिक निर्णय हुने बताए।

दुई वर्षदेखि फोरम लोकतान्त्रिकमा पार्टीको नामबाट ‘मधेसी’ शब्द हटाउने कि नहटाउने भन्नेमा बहस हुँदै आएको छ। खासगरी फोरम लोकतान्त्रिकमा आबद्ध पहाडी मूलका नेताले पार्टीको नामबाट ‘मधेसी’ शब्द हटाउन लबिङ गर्दै आएका छन्।

उपेन्द्र यादवले भने दुई वर्षअघि नै आफ्नो पार्टीको नामबाट ‘मधेसी’ शब्द हटाएका थिए। अशोक राईको पार्टीसँग एकीकरणपछि यादवले पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राखेका छन् । त्यसअघि उनको दलको नाम मधेसी जनअधिकार फोरम थियो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: