कविलासमा गएको सुख्खा पहिराले अवरुद्ध सडक एकतर्फी रुपमा संचालन

घटनास्थलमा घाइतेको उद्धार गर्न सेनाको हेलिकप्टर पुग्यो

चितवन, चैत २१ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कविलासको घुमाउनेमा आज विहान करिव पौने ११ बजे खसेको सुख्खा पहिरोले अवरुद्ध सडक एकतर्फी रुपमा खुला गरिएको छ ।

माथिबाट आएको उक्त सुख्खा पहिरोमा हालसम्म दुई जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा लुमजुङ घर भएका अन्दाजी ३५ वर्षीय रेशराज राणामगर र अर्का एक नाम नखुलाइएका ट्यांकरका सहचालक रहेको प्रहरीले बताएको छ ।

पहिरोमा परी नौवटा सवारी साधन पुरिएको बताइएको छ । बाटो पञ्जाउने कार्य भइरहेको र हालसम्म एकतर्फी रुपमा यातायात संचालन भइसकेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

पहिरोमा परी पाँच वटा मोटरसाइकल, एउटा ट्रक, एउटा ट्याङ्कर, एउटा कार, एउटा टाटामोबाइल गाडीसहित ९ वटा सवारी साधन पुरिएको अनुमान छ ।

त्यस्तै पहिरोमा परि घाइते भएकाहरुको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर घटनास्थल चितवनको कविलास पुगेको छ ।

घाइते भएकाहरुको शिघ्र उपचार गर्न गर्न गृहमन्त्री विमलेन्द्र निधीले निर्देशन दिएपछि हेलिकप्टर चितवन पठाइएको नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले जानकारी दिएका छन् ।

उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी घटनास्थलमा पुगिसकेका र तनँहुबाट सडक पन्छाउने डोजरहरु घटनास्थलमा पुगिसकेको छ ।

कमेन्ट गर्नुहोस्