माओवादी केन्द्रले वैशाख पहिलो साताभित्रै उम्मेद्वारको टुंगो लगाइसक्ने

काठमाडौं, चैत  २२ ।  माओवादी केन्द्रले वैशाख पहिलो साताभित्रै गाउँ, नगरका सबै उम्मेद्वारको टुंगो लगाइसक्ने भएको छ । निर्वाचन आयोगले बनाएको कार्यतालिकाअनुसार १६ वैशाखमा चुनाव लड्न चाहने सबै उम्मेद्वारले आफ्नो मनोनयन पत्र दर्ता गराइसक्नुपर्ने भएकाले माओवादीले वैशाख पहिलो साताभित्रै उम्मेदवारको टुंगो लगाउने गरी आन्तरिक तयारी तीव्र पारेको छ ।

‘ढिलोमा वैशाख पहिलो साताभित्र हामी उम्मेद्वारको टुंगो लगाइसक्छौं,’ माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव प्रह्लाद बुढाथोकीले भने, ‘उम्मेदवारको छनोटको काम आन्तरिक रुपमा भइरहेको छ ।’

निर्वाचन परिचालनलाई मुख्य केन्द्रबिन्दु बनाई अहिले माओवादी केन्द्रले वडा, गाउँ, नगर सम्मेलन गर्ने, पार्टी कमिटी गठन गर्ने, सर्वसम्मत भएका ठाउँमा सम्बन्धित कमिटीले उम्मेदवार चयन गर्नेजस्ता काम एकैसाथ गरिरहेको बुढाथोकीले बताए ।

‘निर्वाचन कार्यविधि र निर्देशिका तलसम्म पुगिसकेको छ, सोहीअनुसार उम्मेदवार छनोट प्रक्रियाका लागि अहिले धमाधम तयारी बैठकहरु बसिरहेका छन्,’ बुढाथोकीले भने, ‘ढिलोमा चैत मसान्तसम्म हाम्रा सबै उम्मेदवार छनोट भइसक्छन् ।’

यो खबर आजको नयाँ पत्रिकामा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: