सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु, रथ असन पुर्याइने

काठमाडौं, चैत २२ । सेतो मच्छिन्द्रनाथको रथजात्रा चैत २२ गते मङ्गलबारदेखि सुरु हुँदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने परम्परा रहेको छ ।

आज दिउँसो जमलको तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्‍याइने छ ।

यसवर्ष राष्ट्राध्यक्षको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई मच्छिन्द्रनाथ दर्शन गराउने व्यवस्था मिलाइएको छ ।

रथलाई तानेर असन पुर्‍याएपश्चात राष्ट्रपति भण्डारी दर्शनका लागि सहभागी हुने सेतो मच्छिन्द्रनाथ ११३७ ब्यवस्थापन समितिले जनाएको छ ।

असन पुर्‍याएको रथलाई सो ठाउँबाट हनुमाध्याखा हुँदै लगन टोलसम्म पुर्‍याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि टोलबासीले स्वागत गरी पर्वको रुपमा भोज खाने गरिन्छ ।

सेतो मच्छिन्द्रनाथको आमाका रुपमा स्वीकारेर लगन टोलमा अवस्थित रुखलाई तीन चक्कर परिक्रमा गरी टोलीबासीले पर्वको रुपमा “याः न्यायेकेगु” परम्परा सम्पन्न गर्छन् ।

आजबाट शुरु गरिएको रथजात्रा लगन टोलमा पुगेपछि सम्पन्न हुन्छ । सो ठाउँबाट देवतालाई रथबाट निकाल्दै खटमा राखेर न्हूघः, कोहिटी, भिमसेनस्थान हुँदै जनबहाल पुर्‍याइन्छ ।

सेतो मच्छिन्द्रनाथलाई जनबहाःद्यो, आर्यावलोकितेश्वर, करुणामयको रुपमा स्वीकार गरी पूजा गर्ने चलन छ ।

कमेन्ट गर्नुहोस्