गर्भवतीको मृत्यु भएपछि लुम्बिनी अस्पतालमा तनाव

बुटवल, चैत २२ । गर्ववती महिलाको मृत्यु भएपछि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा तनाव भएको छ ।

बुटवल–११की २७ वर्षीय मीना बुढामगरको सुत्केरी हुन भर्ना भई उपचारको क्रममा सोमबार साँझ मृत्यु भएपछि उनका आफन्त विरोधमा उत्रिएका हुन् । उपचारमा चरम बेवास्ता र लापरबाहीले गर्भवती महिलाको मृत्यु भएको आफन्तहरुको आरोप छ ।

दोषी डाक्टरलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै आफन्तहरुले अहिले अस्पताल परिसरमा धर्ना दिएका छन् ।

सुत्केरी बेथा सुरु भएपछि सोमबार बिहान करिब १० बजे मीना अस्पताल भर्ना भएकी थिइन् । तर बिहान हिडेर अस्पताल पुगेकी मीनाको साँझ उपचारका क्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । पति कुलबहादुर बुढाका अनुसार दिउँसोदेखि मीनालाई बेथाले च्यापेको थियो ।

साँझपखबाट ओठ मुख सुन्निने, काप्ने र बच्चामाथि सर्ने भएको थियो । नर्सहरुलाई पटक पटक समस्या बताउँदा पनि अस्पतालले वास्ता नगरी डाक्टरले जाँच नगरेको कारण विरामीको मृत्यु भएको उनले बताए । अस्पतालले अहिलेसम्म शव समेत हेर्न नदिएको उनले बताए ।

अस्पतालले भने आफन्तले भनेजस्तो बेवास्ता नगरेको दाबी गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: