सेयर बजारमा सामान्य ‘करेक्सन’

चैत्र २२ । सोमबार ६ अंकले घटेको नेप्से परिसुचक मंगलबार पनि सामान्य अंकले घटेको छ । कारोबार खुलेदेखि नै तीब्र उतार चढाव देखिएको आजको बजार अन्तत ३ दशमलव ५० अंकले घटेको छ ।
केहि दिन अघि तुलनात्मक रुपमा सस्तोमा बीमा कम्पनीको सेयर उठाउनेहरुले छोटो समयमै नाफा बुक गर्न खोजेपछि बढेको विक्रीको चापले नेप्से केही करेक्सन भएर बन्द भएको छ । खरिदकर्तामा धेरै जसो खुद्रा लगानीकर्ता रहेको बुझिएको छ ।

आजको कारोबारमा होटल, बीमा तथा फाइनान्स बाहेक अन्य समूह घटेका छन् । आज सबैभन्दा बढी जलविद्युत समूह ३३ दशमलव ०६ अंकले घटेको छ । भने होटल समूह सर्वा्धिक ७४ दशमलव ९५ अंकले बढेको छ । त्यस्तै बीमा समूह ११ दशमलव २३ र फाइनान्स समूह दुई दशमलव ३८ अंकले बढेका छन् । शुक्रबारदेखि लागू हुनेगरी बीमा समितिले बीमा कम्पनीको चुक्तापूँजी ४ गुणाले वृद्धि गरेसँगै बीमा समूहमा उछाल नै आएको थियो । यद्यपी आज बीमा समूहमा पनि सामान्य वृद्धि देखिएको हो ।

मंगलबार कारोबारमा आएका १४४ कम्पनीका २७ लाख १७ हजार सेयर खरिद बिक्री मार्फत १ अर्ब ६३ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार हुनेमा बाणिज्य बैंक र इन्स्योरेन्स नै अग्रस्थानमा रहेका छन । आजको कारोबारमा चैत २९ लाई बुक क्लोज गरेको नेपाल बैंकको मात्रै १२ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेप्से परिसुचक ३ दशमलव ५० अंकले घटेर १६ सय ५७ दशमलव ०२ को बिन्दुमा पुगेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: