दसैँ अगावै मेलम्ची आयोजनाको निर्माण सम्पन्न गर्न लेखा समितिको निर्देशन

काठमाडौँ,  चैत २३ । व्यवस्थापिका–संसद् लेखा समितिले आगामी दसैँअगावै मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न गर्न खानेपानी तथा सरसफाई मन्त्रालय र आयोजनालाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकमा आयोजनाको काममा केही ढिलाइ भइरहेको र तोकिएको समयमा आयोजना सम्पन्न नहुने हो कि भन्ने चिन्ता आमरुपमा आएको भन्दै दसैँअगावै आयोजना सम्पन्न गर्न निर्देशन दिइएको सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

यस्तै, समितिले मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने क्रममा काठमाडौँ उपत्यकाभित्र भत्काइएको सडक मर्मत नभएको, धुलोका कारण आम जनजीवन प्रभावित भएको तथा सडक मर्मतमा ध्यान नदिएको भन्दै आयोजनाको ध्यानाकर्षण गराएको छ ।

समितिले आयोजनाको हालसम्मको आर्थिक अवस्थाको सम्पूर्ण विवरण उपलब्ध गराउनसमेत आयोजनालाई ध्यानाकर्षण गराएको छ भने निर्माण कार्यमा कुनै पनि सर्तमा पछाडि नपार्न र समयमा सम्पन्न गर्नसमेत निर्देशन दिइएको सभापति उपाध्यायले बताउनुभयो ।

खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले दसँैअगावै आयोजनाको काम सम्पन्न गरिने र कुनै पनि बहानामा आयोजना पछाडि धकेल्ने काम नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

उहाँले आयोजनाको केबल चार किलोमिटर मात्रै सुरुङ खन्ने काम बाँकी रहेको भन्दै ठेकेदारलाई पूर्ण क्षमतामा काम गर्न निर्देशन दिइएको र कामको गति बढेको जानकारी दिनुभयो । रासस

कमेन्ट गर्नुहोस्