कैलालीको टीकापुरमा यसरी तात्दै छ चुनावी माहोल

कैलाली, चैत २३ । कैलालीको दोस्रो ठूलो नगरपालिका टीकापुरमा चुनावी माहोल तातेको छ । स्थानीय तहको निर्वाचन मिति नजिकिदैं गएपछि उक्त नगरपालिकामा चुनावी सरगर्मी बढेको हो । टीकापुरमा सक्रिय राजनीतिक दलहरु संगठन विस्तार, वडा भेला लगायतका कार्यमा बढी मिहिनेत गरी रहेका छन् ।

यस्तै, नगर प्रमुखको उम्मेदवारका लागि आकांक्षी देखिएकाहरु पनि टिकटका लागि दौडधुप गरिरहेका छन् । प्रायः सबै पार्टीमा एक भन्दा बढी व्यक्ति नगर प्रमुखका लागि आफ्नो उम्मेदवारी रहने दावी गरिरहेका छन् । नेपाली काङ्ग्रेसबाट १२/१५ जना आकांक्षी देखिएका छन् । आकांक्षी धेरै जनाको नाम आएकाले सो पार्टीले कसैको नाम सार्वजनिक गरेको छैन । यस्तै, नेकपा एमालेबाट जिल्ला सचिवालय सदस्य भैरव रावल, पूर्व जिल्ला सदस्य तपेन्द्र रावल, जिल्ला सदस्य कमला केसी, क्षेत्रीय सचिवालय सदस्य भिमराज चापाई, टीकापुर नगर इन्चार्ज श्याम खत्री र युवा संघ आबद्ध युवा नेता विजयराज सिंह मायालु गरी छ जना आकांक्षी देखिएका छन् ।

नेकपा माओवादी केन्द्रबाट पाँच जना मेयर पदमा उम्मेदवारका आकांक्षी देखिएका छन् । सो पार्टीका नेताका अनुसार शिव थापा, बालकृष्ण चौधरी, नन्दराम विक, खडक शाह र तारा सञ्ज्याल नगर प्रमुखको उम्मेदवारीका लागि आकांक्षी देखिएका छन् । पाँचै जना केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुन ।

यसैगरी, राप्रपा नेपालबाट पाँच जना आकांक्षी छन् । सो पार्टीको केन्द्रीय निर्णय अनुसार टिकट फाइनल नभएसम्म आकांक्षी कसैको नाम सार्वजनिक गरिएको छैन भने उनीहरुलाई प्रचार प्रसार समेत गर्न दिइएको छैन । यी संगै नयाँ शक्ति नेपाल पार्टी, राष्ट्रिय जनमोर्चा लगायत सक्रिय सबै दलहरु चुनावी अभियानमा जुटेको जनाइएको छ ।

२०५४ मा भएको स्थानीय निकायको निर्वाचनमा टीकापुर नगर प्रमुखमा काङ्ग्रेसलाई पराजित गर्दै नेकपा एमालेका रत्न प्रसाद सञ्ज्याल विजयी भएका थिए । तर, हाल टीकापुरमै गाभिएको साविकको धनसिंहपुर गाविसमा काङ्ग्रेसका जंग बहादुर साउँद र नारायणपुरमा फकिरसिंह कडायत गाविस अध्यक्षमा जितेका थिए ।

२०६४ सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा भने क्षेत्र नम्बर १ बाट तत्कालिन एकीकृत नेकपा माओवादी पार्टीका रुपा चौधरीले सो क्षेत्रमा जित हात पारेका थिए । यस्तै, २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जनकराज चौधरीले जित हात पारेका थिए । क्षेत्र नम्बर १ अन्तर्गत पर्ने टीकापुर नगरपालिकामा सबैभन्दा बढी मतदाता रहेका छन् । विगतमा प्राप्त जितहारको नतिजाबाट पाठ सिकेका दलहरु स्थानीय तहको निर्वाचनमा आ–आफ्नो जित सुनिश्चित गर्नका लागि जोडतोडका साथ लागेका छन् । प्रायः सबै दलले आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन् ।

अघिल्ला चुनावहरुमा आफ्नो पार्टीले पराजय भोगे पनि यसपालि काङ्ग्रेसप्रति जनलहर चलेकाले टीकापुरमा जित सुनिश्चित रहेको नेपाली काङ्ग्रेसका प्रकाश शाहले दावी गरे । नेकपा एमालेका खडक साउदले स्थानीय निकायको निर्वाचनमा बाजी मारेको आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा पनि टीकापुरमा विगतकै इतिहास दोहोर्याउने दावी गरे ।

नेकपा माओवादी केन्द्रका ईश्वर सोडारीले संविधान सभा, संघीयता, स्थानीय तह यी सबै आफ्नो पार्टीको एजेण्डा रहेकाले जित माओवादी केन्द्रकै हुने दावी गरे । राप्रपा नेपालका मानसिंह साउदले स्थानीय निकायको निर्वाचनमा आफ्नो पार्टी झिनो मत अन्तरले हारेको उल्लेख गर्दै यसपालि जितको प्रबल सम्भावना रहेको बताए । टीकापुरमा गतवर्ष भदौ ७ र ८ गते घटेको घटना र त्यसपछि उत्पन्न परिस्थितिले स्थानीय तहको निर्वाचनमा धेरै प्रभाव पार्ने नगरवासीको दावी छ । घटनापछि टीकापुरमा उत्पन्न अहसज परिस्थितिलाई सामान्य बनाउनका लागि खेलेको भूमिकाको मूल्यांकन अनुसार पार्टीहरुले भोट पाउने उनीहरुले बताएका छन् । टीकापुर नगरपालिकामा साविकको दुर्गौली, नारायणपुर र धनसिंहपुर नगरपालिका गाभिएको छ ।

कमेन्ट गर्नुहोस्