स्थानिय प्रशासनको अवज्ञा

कैलाली, चैत २३ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी स्थानीय प्रशासनले हतियार बुझाउन गरेको आग्रहलाई कैलालीमा अटेर गरिएको छ ।

४६९ वटा अनुमति प्राप्त हतियार रहेको कैलालीमा समयावधि सकिंदासम्म एक वटा मात्रै हतियार बुझाइएको छ ।

चैत ६ गते सार्वजनिक सूचना निकाल्दै प्रशासनले १५ दिनभित्र नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा अनिवार्य रुपमा हतियार बुझाउन आग्रह गरेको थियो ।

सूचना जारी भएको १६ औं दिनमा एक वटा मात्रै हतियार सङ्कलन भएको छ । धनगढी उप–महानरगरपालिका वडा नम्बर ९ घुईयाघाटका प्रजिव बिष्टले एक नाल १२ बोर बन्दुक बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिए ।

४६८ वटा हतियार अझै सम्बन्धित व्यक्तिसंगै रहेका छन् । निर्धारित समायवधि भित्र हतियार नबुझाइनुले सुरक्षा सम्वेदनशीलता बढ्न सक्ने भन्दै प्रशासन गम्भीर बनेको छ ।

वैशाख ३१ गतेका लागि तोकिएको निर्वाचन बिथोल्न ती हतियारको दुरुपयोग हुन सक्ने भन्दै प्रहरीले सतर्कता बढाएको छ ।

निर्वाचनमा हुन सक्ने सुरक्षा सम्वेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले हतियार बुझाउन आग्रह गरेको थियो । पहिलो पटकको सूचनाबाट हतियार सङ्कलन नभएकाले पुनः अर्को सूचना जारी गर्ने प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।

प्रशासनले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि मद्दत गर्न सबैलाई आग्रह समेत गरेको छ ।

यस्तै, निर्वाचन नसकिंदासम्म घरेलु हातहतियार लिएर प्रदर्शन समेत गर्न नपाइने गरी प्रशासनले बन्देज लगाएको छ । प्रशासनले मदिरा बिक्री वितरणमा समेत रोक लगाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: