स्थानिय चुनावमा प्रदेश नम्बर ७ बाट १३ लाखले मतदान गर्दै

कैलाली, चैत्र २३ । निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीअनुसार प्रदेश नं ७ बाट १३ लाख ३ हजार ६ सय ७५ मतदाताले भोट हाल्न पाउने भएका छन् ।

प्रदेश नं ७ मा ६ लाख ३४ हजार ३ सय ३० पुरुष, ६ लाख ६९ हजार ३ सय ३१ महिला र १४ जना तेस्रोलिङ्गी रहेको क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।

कैलालीमा १ लाख ९८ हजार ८ सय ८७ पुरुष, दुई लाख ५ हजार ३ सय ८६ महिला र ७ जना तेस्रोलिङ्गी गरी जम्मा ४ लाख ३ हजार २ सय ८० जनाले निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

त्यस्तै कञ्चनपुरमा १ लाख १५ हजार ४ सय २२ पुरुष, एक लाख २० हजार ३ सय १२ महिला र एक तेस्रोलिङ्गी गरी २ लाख ३५ हजार ७ सय ३६, डडेल्धुरामा ३७ हजार २ सय ५४ पुरुष र ३८ हजार ५ सय २६ महिला गरी जम्मा ७५ हजार ७ सय ८० जना मतदाताले मत हाल्न पाउने छन् ।

यसैगरि डोटीमा ४६ हजार ९८ पुरुष र ५४ हजार ७ सय ८९ महिला गरी १ लाख ८ सय ८७, दार्चुलामा ३६ हजार ६ सय ४१ पुरुष र ३६ हजार २ सय ६५ महिला गरी ७२ हजार ९ सय ६ जना, बैतडीमा ६० हजार २ सय २७ पुरुष, ६४ हजार ५ सय ९६ महिला र एक तेस्रोलिङ्गी गरी १ लाख २४ हजार ८ सय २४ जना, अछाममा ६० हजार ४ सय ४१ पुरुष र ६७ हजार २ सय ९९ महिला र दुई तेस्रोलिङ्गी गरी जम्मा १ लाख २७ हजार ७ सय ४२ जना, बझाङमा ४७ हजार ८ सय ८८ पुरुष ४९ हजार ७ सय २१ महिला र एक तेस्रोलिङ्गी गरी ९७ हजार ५ सय ६० जना र बाजुरामा ३२ हजार ५ सय २१ पुरुष, ३२ हजार ४ सय २७ महिला र दुई तेस्रोलिङ्गी गरी ६४ हजार ९ सय ५० जनाले निर्वाचनमा मतदान गर्न पाउने क्षेत्रीय निर्वाचन कार्यालय कैलालीका प्रमुख मोहन अर्यालले जानकारी दिएका छन् ।

उनले जनचेतनाको कमिका कारण थुप्रै मतदाताहरुको नाम दर्ता गर्र्न छुटेको बताए ।

कमेन्ट गर्नुहोस्