तीन पार्टीसँगको एकीकरणपछि फोरम लोकतान्त्रिक बन्यो पाँचौ ठूलो दल

काठमाडौं, चैत २३ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक र दलित जनजाति पार्टीबीच बुधबार एकीकरण भएको छ ।

राजधानीमा आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, जनमुक्तिका अध्यक्ष शिवलाल थापा र दलित जनजातिका अध्यक्ष यशोदाकुमारी लामाले संयुक्तरुपमा पार्टी एकीकरण भएको घोषणा गरेका छन् ।

घोषणापछि पार्टीको नयाँ नाम ‘नेपाल लोकतान्त्रिक फोरम’ राखिएको फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामजनम चौधरीले जानकारी गराए ।

कार्यक्रममा लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले पार्टीको उचाइ बढेको भन्दै आगामी दिनमा आदिवासी, दलित, पिछडिएका पक्षको हितमा पार्टी लाग्ने बताए ।

जनमुक्तिका अध्यक्ष थापा र जनजातिका अध्यक्ष लामाले हिमाल, पहाड, तराई र मधेसलाई एक बनाउनका लागि आफू एक भएको बताए ।

उनीहरुले पार्टी फुटेर देशमा संक्रमणकाल बढेको भन्दै आफूहरुबीच मुद्दा एक भएकाले फुटेर होइन, जुटेर काम गर्नका लागि एकता गरेको जानकारी गराए ।

पार्टी एकीकरणपछि व्यवस्थापिका–संसदमा १७ सदस्य भइ फोरम पाँचौं ठूलो दल बनेको छ ।

नयाँ नाम दिइएको फोरममा शिवलाल थापा, सीमाकुमारी विक र यशोदाकुमारी लामासमेत सांसद थपिएकाले एकतापछि पार्टीको अध्यक्षमा गच्छदार र सहअध्यक्षमा क्रमशः थापा र लामा रहेको फोरमका उपाध्यक्ष चौधरीले जानकारी गराए ।

उनकाअनुसार तीनै पार्टीमा अहिले रहेको नेताहरुको जिम्मेवारी नयाँ महाधिवेशन नभएसम्मका लागि यथावत् राखिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: