कांग्रेसलाई बुद्धिजीविहरुको सुझाव

काठमाडौ, चैत २३ । नेपाली कांग्रेसलाई स्थानीय तहको निर्वाचन केन्द्रीत घोषणापत्रमा जनप्रिय र लोकप्रिय कार्यक्रमहरु समावेश गर्न बुद्धिजीवीहरुले सुझाव दिएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा गरेको छलफलमा विभिन्न क्षेत्रका विज्ञहरुले नेपाली कांग्रेसलाई लोकप्रिय कार्यक्रमलाई प्राथमिकताका साथ घोषणा पत्रमा समावेश गर्न र अन्य दलले गरेका नराम्रा कामको भण्डाफोर गर्न पनि सुझाव दिएका हुन् ।

उनीहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आफ्ना लोकप्रिय कामहरुबाट अघि बढीरहेको उल्लेख गर्दै केही त्यस्ता स्थानीय तहको प्रत्यक्ष सरोकार राख्ने तथा युवा लक्षित कार्यक्रम समेट्नुपर्नेमा जोड दिएका हुन् ।

अर्थविद् विश्वम्भर प्याकुरेलले नेताहरुबाट विभिन्न मिडियामा प्रतिवद्धता आएपनि स्थानीय तहमा नेपाली कांग्रेसलाई आलोचना गरि आफ् अघि बढ्ने समुह सक्रिय रहेको भन्दै यथार्थ जानकारी सहितको प्रतिवादमा उत्रन सुझाव दिए ।

उनले घोषणापत्रमा केही लोकप्रिय कार्यक्रम समेट्नै पर्ने भन्दै घोषण पत्रको मस्यौदा बुद्धिजीवीसंगको राय परामर्शबाट मात्रै सार्वजनिक गर्न पनि आग्रह गरे ।

त्यसैगरी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्माले आर्थिक क्षेत्र तथा सेवामा कांग्रेसले ठोस योजना सहितको घोषणा पत्र तयार पार्नुपर्ने सुझाव दिए ।

त्यसैगरी विज्ञहरुले स्थानीय तहको अधिकार, क्षमता निर्माण तथा युवा पुस्ता केन्द्रीत कार्यक्रम ल्याउन सुझाव दिएका छन् । कांग्रेसले मधेसलाई लक्षित गरी स्पष्ट दृष्टिकोण राख्नुपर्नेमा पनि उनीहरुले सुझाव दिएका छन् ।

छलफलमा विज्ञहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अरुण तेश्रो बन्न नदिएको बारे स्थानीय स्तरमा नै भण्डारफोर कार्यक्रम संचालन गर्नुपर्नेमा पनि पार्टीको ध्यानाकर्षण गराएका छन् । त्यसैगरी, एक स्थानीय तह एक सुविधा सम्पन्न वृद्धाआश्रम जस्ता लोकप्रिय कार्यक्रम अघि सार्न सुझाव दिएका छन् ।

कमेन्ट गर्नुहोस्