उपलब्धीलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री थापाको निर्देशन

त्रिशूली (नुवाकोट), चैत २४ । उपप्रधान र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले संविधान कार्यान्वयनका क्रममा स्थानीय तहसम्बन्धी व्यवस्था कार्यान्वयनमा आउनु ठूलो परिवर्तन भएकाले कार्यालय स्थापना गरेर कार्य सम्पादन हुनका लागि केही समय लाग्ने बताउनुभएको छ ।

बुधबार विदुरमा जिल्ला समन्वय समितिको कार्यालयको अवलोकन तथा कर्मचारीलाई निर्देशन दिने क्रममा उपप्रधानमन्त्री थापाले सबै स्थानीय तह, प्रदेश र केन्द्र गरी संविधानले तीनवटा सरकारको परिकल्पना गरेअनुसार पहिलो चरणको स्थानीय तह कार्यान्वयनमा आएकाले यो उपलब्धीलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

उहाँले संविधानप्रदत्त स्वायत्त रहने स्थानीय सरकार स्थानीय तहबाट कार्यसम्पादनमा जटिलता उत्पन्न हुने भए पनि सबैको सहयोगमा काम सुरु गर्न जोड दिनुभयो ।

जिल्ला समन्वय समितिका समन्वय अधिकारी केशरबहादुर पण्डितले हाल नुवाकोटमा भइरहेको समग्र वस्तु स्थितिबारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले भौगोलिक विकटता, जनशक्ति अभावलगायत कारणले भूकम्पपछिको पुनःनिर्माणमा दोस्रो किस्ताको रकम वितरणमा सुस्तता भएको र नीतिगत अस्पष्टताको बारेमा उपप्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा नुवाकोटका १२ वटै स्थानीय तहका कार्यकारी अधिकृत, वडा सचिवलगायतको सहभागिता रहेको थियो । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: