होला त नयाँ आइजिपी नियुक्तिको निर्णय !

काठमाडौं, चैत २४ । मन्त्रीपरिषद बैठक बिहिबार दिउँसो बस्ने भएको छ ।

दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बस्ने बैठकमा नेपाल प्रहरीको नयाँ महानिरिक्षक (आइजिपी) नियुक्ति हुने बताइएको छ ।
यसअघि सरकारले फागुन १ गते आइजिपिमा नियुक्त गरेका डिआइजी जयबहादुर चन्दको बढुवालाई सर्वोच्च अदालतले बदर गरेको थियो ।

अदालतको नयाँ फैसलापछि रोकिएको नेपाल प्रहरीको आइजिपी नियुक्तिका लागि सरकारले सर्वोच्चकै आदेश अनुसार प्रहरी नियमावली अनुसा निर्णय गर्ने बताइएको छ । प्रधानमन्त्री चीन भ्रमणबाट फर्केपछि पहिलोपटक बैठक बस्न लागेको हो ।

बैठकले उपप्रधानमन्त्रीको वरियताबारेमा निर्णय गर्ने बताइएको छ ।

उपप्रधानमन्त्री विमलेन्द्र निधि र अर्का उपप्रधानमन्त्री कमल थापामध्ये कसलाई दोस्रो वरियता दिने भन्ने विषयमा विवाद हुँदा चैत ३ गतेपछि मन्त्रीपरिषद बैठक बस्न सकेको थिएन ।

वरियता विवादकै कारण चैत १० गते प्रधानमन्त्री दाहाल चीन भ्रमणमा जाँदासमेत कार्यवाहक नतोकी र भ्रमणमा गएका थिए ।

थापाले निधिभन्दा आफू पहिले नै मन्त्री र उपप्रधानमन्त्री बनेकाले दोस्रो वरियता पाउनुपर्ने बताएका थिए । उता निधिले सरकार गठन हुँदा भएको सहमति र ठूलो दलका हिसाबले आफूले दोस्रो वरियता पाउनुपर्ने अडान राखेपछि वरियता विवाद देखिएको थियो ।

मन्त्रिपरिषद् बैठक नबस्दा अरु महत्वपूर्ण ५२ वटा प्रस्ताव मन्त्रिपरिषद कार्यालयमा रोकिएको छ, त्यसलाई आजको बैठकले अगाडि बढाउने भएको छ ।

कमेन्ट गर्नुहोस्