लालपुर्जा नहुँदा ७८ हजार भूकम्पपीडितले पाएनन् अनुदान

काठमाडौँ, चैत २४ । लालपुर्जा र जग्गासम्बन्धी प्रमाण नभएका कारण ७८ हजार भूकम्पपीडितले अनुदान पाउनबाट बञ्चित भएका छन् । भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका ७७ हजार ७८१ भूकम्पपीडितले लाभग्राहीको सूचीमा परे पनि अनुदान रकम नपाएका हुन् ।

भूकम्पपीडितसँग लालपुर्जा नभएका कारण अनुदान सम्झौता हुन नसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ । जग्गासम्बन्धी प्रमाणको अभावले अनुदान सम्झौता हुन नसकेका त्यस्ता लाभग्राहीका लागि पनि छिट्टै आवश्यक व्यवस्था मिलाइने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले बताए ।

मङ्गलबार बसेको कार्यकारी समितिको बैठकले लालपुर्जालगायत जग्गासम्बन्धी प्रमाणको अभावमा अनुदान सम्झौता हुन नसकेका लाभग्राहीको तथ्याङ्क यकिन गर्न समिति गठन गरेको छ । समिति सदस्य धुव्रप्रसाद शर्माको संयोजकत्वमा गठित समितिले एक साताभित्र कार्यकारी समितिलाई सुझावसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।

भूकम्पका कारण कम प्रभावित १७ जिल्लामा प्राधिकरणले दोस्रो चरणमा ४४ हजार ४४३ घरधुरीलाई लाभग्राहीको सूचीमा राखेको छ । यसअघि पहिलो चरणमा १५ हजार ७४३ जना लाभग्राही सूचीमा समावेश भइसकेका छन् ।

लाभग्राही सूचीमा परेकालाई निजी आवास पुनःनिर्माणका लागि प्राधिकरणले आवश्यक प्रक्रिया र मापदण्ड पु¥याएर तीन लाख रुपियाँ प्रदान गर्ने तयारी गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: