संशोधन प्रस्ताव फिर्ता लिँदै नयाँ संशोधन दर्ता गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौ, चैत २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिएर अर्को नयाँ प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।

बिहीबार बसेको पार्टीको हेर्डक्वाटर बैठकले संसदमा दर्ता गराइएको ४ बुँदे संविधान संशोधन प्रस्ताव फिर्ता लिने र अन्य दलको सहमतिमा नयाँ प्रस्ताव दर्ता गर्नुपर्ने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिएकी छिन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले अर्को संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारीबारे जानकारी गराएका छन् ।

उनले नयाँ संविधान संशोधन प्रस्तावमा अन्य थप दुई विषय संशोधन गर्ने बताए । नागरिकता, भाषा र राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयमा अहिलेको संविधान संशोधन प्रस्तावमा उल्लेख छ । तर नयाँ संशोधनमा भने सीमाङ्कनका विषयमा प्रदेशको सहमति आवश्यक हुने भनिएको धारा २७४ को विषय र स्थानीय तहका प्रमुख उपप्रमुखले राष्ट्रपति चयनका लागि पाउने मतभार संशोधन गर्न लागेको हो ।

मधेसी मोर्चा र सत्तारुढ कांग्रेस–माओवादी केन्द्रले गठन गरेको कार्यदलले सीमाङ्कनको विषय शक्तिशाली आयोग बनाएर जिम्मा लगाउन सुझाव दिएका थिए। कार्यदलको सुझाव अनुसार नै धारा २ सय ७४ को ४ मा रहेको सीमाङ्कन परिमार्जनको विषय प्रदेशबाट अनुमोदन गर्नुपर्ने प्रावधान संशोधन गर्न लागिएको हो। त्यस्तै प्रचण्डले तराईका जिल्लाहरुमा थप स्थानीय तहको संख्या निर्धारण गर्नुपर्ने अवस्था समेत बैठकमा ब्रिफिङ गरेका थिए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: