नेपाल–भारत प्रवुद्ध समूहको बैठक निष्कर्षविहीन

काठमाडौं, चैत २४ । नेपाल–भारत प्रवुद्ध समूह (ईपीजी) बैठक निष्कर्षविहीन सकिएको छ ।

नेपाल र भारतबीचको दुईपक्षीय सन्धि र सम्झौताको अध्ययन गर्दै सरकारलाई सुझाव दिन गठित प्रबुद्ध समूहको तेस्रो बैठकमा नेपाली पक्षको प्रस्तावमा अध्ययन गर्नुपर्ने भारतीय पक्षले बताएपछि वैठक निष्कर्षविहीन नै सकिएको हो ।

बैठकमा नेपालका तर्फबाट सन् १९५० को मैत्री सन्धिलाई समय सापेक्ष बनाउन चारवटा धारा परिवर्तन गर्न प्रस्ताव राखेको छ । भारतीय पक्षले अध्ययन गर्न समय मागेपछि अर्को बैठकमा थप छलफल गर्नेगरी तेस्रो बैठक सकिएको हो ।

अर्को बैठक मे २९, ३० र ३१ मा भारतको देहरादुनमा बस्ने तय गरिएको छ । हिजो शुरु बैठकमा सन् १९५० को सन्धि, जलस्रोत सम्बन्धी सन्धि तथा सम्झौता र व्यापार तथा पारवहन सन्धि एवं सम्झौतामा नेपालले चाहेको परिवर्तनमा भारतीय पक्षले थप अध्ययन गर्नुपर्ने धारणा राखेका थिए ।

सन्धिको धारा २ मा उल्लेखित मैत्री सम्बन्धमा खलल पर्न जाने विषयमा एक अर्काको सार्वभौमिकता कुण्ठित भएको केही उदाहरण नेपालले प्रस्तुत गरेको थियो । त्यस्तै धारा ५ मा भारतीय बाटो गरी नेपालको सुरक्षाको निमित्त चाहिने हातहतियार, पाठपुर्जा, गोलीगठ्ठा ल्याउन पाउने अधिकारमा समेत दुईपक्षीय समस्या पटकपटक आएको र भारतले यसमा अनावश्यक दुस्ख दिएको विषय पनि प्रस्तुत भएको छ ।

धारा ६ र ७ मा उल्लेख भएका छिमेकी मैत्रीभावको प्रतिक स्वरूप दुवै सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका जनतालाई आफ्ना मुलुकको औद्योगिक र आर्थिक विकास, विकास सम्बन्धी ठेक्काहरूमा भाग लिन अनुमति दिनुका साथै आफ्नो राज्य क्षेत्रमा रहेका अर्को मुलुकका जनतालाई निवास, सम्पत्तिको भोग, व्यापार लगायतका विशेषाधिकारहरू मञ्जुर गर्ने विषयबारे पनि नेपालले जनसंख्या र अन्य धेरै कुराले भारतीयसँग समान हुन नसक्ने भनि पेश गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: