चुनाव सार्न एमालेले आग्रह गरेको वर्षमान पुनको खुलासा

रुपन्देही, चैत २५ । माओवादी केन्द्रका प्रभावशाली युवा नेता वर्षमान पुन ‘अनन्त’ले प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको चुनाव कात्तिकमा सार्न प्रस्ताव गरेको खुलासा गरेका छन् ।

प्रेस सेन्टर नेपाल पाँच नम्बर प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तर, एमालेको उक्त प्रस्ताव आफ्नो पार्टीले अस्वीकार गरेको बताए ।

‘हामी पनि सरकारमा आउँछौ, तपाईहरुको नेतृत्वमा तीन तहकै चुनाव गरौँ, स्थानीय तहको चुनाव कात्तिकमा सारौं भन्ने प्रस्ताव एमालेको शीर्ष नेतृत्वबाटै आएको छ’ एमालेका नेताहरुबाट आएको भनाई उधृत गर्दै अनन्तले भने ।

एमालेले बाहिर चुनावको चर्का चर्का कुरा गरेपनि भित्रि रुपमा स्थानीय चुनाव सार्न प्रस्ताव गर्नु आश्चर्यको बिषय भएको उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफ्नो पार्टी बैशाख ३१ मै चुनाव गराउन प्रतिबद्ध रहेको अनन्तले दाबी गरे । उनले स्थानीय तहको चुनावपछि प्रधानमन्त्री प्रचण्डले पूर्व सहमति बमोजिम कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने प्रष्ट पारे ।

तर हामी गठबन्धनप्रति प्रतिबद्ध छौँ, स्थानीय तहको चुनावपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्दछौँ’ अनन्तले भने ।

मधेसी मोर्चासँग सहमतिका लागि अर्को साता संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता हुने नेता अनन्तले बताए । तराई मधेसका १०र१२ जिल्लामा जेठ १५ अघि नै दोश्रो चरणको चुनाव सक्ने गरी सहमतिको सम्भावना रहेको उनले बताए ।

स्थानीय चुनावमा स्थानीय विशेषता हेरेर कांग्रेस र एमालेसँग तालमेलको सम्भावना रहेको भएपनि माओवादी एक्लै चुनावमा होमिने गरी तयारी गरेको उनले दाबी गरे । नेता अनन्तले प्रचण्ड नेतृत्वको सरकार दक्षिण र उत्तरको सन्तुलन मिलाउन सरकार सफल भएको जिकिर गरे ।

कमेन्ट गर्नुहोस्