नेकपा र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुने

काठमाडौ, चैत २६ गते । माओवादी केन्द्रले फेरि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सँग पार्टी एकीकरण गर्ने भएको छ । पूर्व क्षेत्रमा प्रभावशाली नेताको रुपमा स्थापित टंक राईले नेतृत्व गरिरहेको नेकपा र प्रचण्डको माओवादी केन्द्रबीच पार्टी एकीकरण हुन लागेको हो ।

एक वर्षदेखि दुई पार्टीबीच भइरहेको एकीकरणको प्रयासले शुक्रबार सार्थकता पाएको हो । दुई पार्टीबीच सैद्धान्तिक तथा वैचारिक एकरुपता भए पनि पार्टी एकीकरणपछि पाउने पदको बारेमा कुरा नमिल्दा ६ महिनादेखि एकीकरण  हुन सकेको थिएन ।

यसमा कम्युनिष्ट पार्टीको तर्फबाट राखिएको प्रस्तावमा माओवादीले समर्थन जनाएपछि पार्टी एकिकरण हुने निश्चित भएको नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीले जानकारी दिए । एकिकरणपछि टंक राईलाई पार्टी हेडक्वार्टर सदस्य बनाइने भएको छ । त्यसैगरी रामहरी कार्की र अमेम्बर राई पोलिट्व्यूरो सदस्य तथा अन्य दुई दर्जन नेताहरुलाई पार्टीको तल्लो कमिटि तथा विभिन्न जनवर्गीय संगठनहरुमा स्थान दिने सहमति भएको किराँतीले बताए ।

माओवादीले पार्टी एकीकरणको विषय टुङ्गो लगाउन रामबहादुर थापा, अमिक शेरचन र गोपाल किराती रहेको समिति बनाएको थियो । स्थानीय चुनाव नजिकिँदै गर्दा भएको दुई पार्टीको एकीकरणले पूर्वको खोटाङ, ओखलढुङ्गा र भोजपुरमा माओवादीको स्थिति मजबुद बनाउन सहयोग पुग्ने नेताहरुले बताएका छन् ।

चार दशकभन्दा बढि समयदेखि कम्युनिष्ट आन्दोलनमा रहेका राई २०५४ मा नेकपा (एमाले) खोटाङबाट प्रत्यक्ष निर्वाचित संसदसमेत हुन् । तात्तकालीन नेकपा (माले), एमाले फेरि माले हुँदै विभिन्न टुक्रामा विभाजित भएको पार्टीको नेत्तृत्व गर्दै आएका राईको पूर्व क्षेत्रमा राम्रो प्रभाव रहेको छ उनीहरुको दाबी छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: