देउवाको प्रस्ताव- मोर्चासँग सहमति भए दुई चरणमा चुनाव

काठमाडौं, चैत २५ । कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको चुनावको लागि मधेसी मोर्चासँग सहमति भए दुई चरणमा चुनाव गर्न सकिने बताएका छन् ।

एकैचरणमा निर्वाचन गर्नुपर्ने पूर्व अडानबाट पछि हट्दै कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको शुक्रबार बसेको संयुक्त बैठकलाई सम्बोधन गर्दै देउवाले दुई चरणमा निर्वाचन गर्नेगरी मोर्चासँग समझदारी हुनसक्ने संकेत दिएका हुन् ।

मधेसी मोर्चा चुनावमा आउने संकेत देखिएकाले दुई चरणमा चुनाव गर्नुपर्ने देउवाले बताए । बैठकमा देउवाले मोर्चासँग सहमतिको प्रयास भइरहेको भन्दै कुनै हालतमा चुनाव नरोकिने स्पष्ट पारे ।

बैठकमा बोल्ने २८ सांसदमध्ये अधिकांशले एकैचरणमा निर्वाचन गर्न जोड दिएका थिए । मधेसका केही जिल्लालाई मात्रै अलग्याएर निर्वाचनमा जाँदा गलत सन्देश जाने भन्दै उनीहरुले एकैचरणमा निर्वाचन गर्नेगरी मधेसी मोर्चासँग समझदारी जुटाउन पार्टी सभापतिको ध्यानाकर्षण गराएका थिए ।
तर सभापति देउवाले तोकिएको मिति सार्दा चुनाव नै नहुने खतरा रहेको भन्दै बरु मोर्चालाई सहमतिमा ल्याउन दुई चरणमा चुनाव गर्दा मुलुकको लागि राम्रो हुने भनाई राखेका थिए ।

मधेसी मोर्चाले संविधान संशोधनका अतिरिक्त मोर्चाका नेताहरुले छुट मतदाता नामावली थप्ने र स्थानीय इकाईको संख्या बढाउनु पर्ने अडान नछाडेपछि देउवाले ठूलो पार्टीको नाताले मोर्चालाई सहमतिमा ल्याउने जिम्मेवारी आफ्नो पार्टीले लिएको भन्दै दुई चरणमै निर्वाचनमा जान तयार भएको हुनुपर्ने बताए । मोर्चासँग समझदारी जुटेमा प्रदेश नम्वर २ र ५ का एघार जिल्लाको निर्वाचन दोस्रो चरणमा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ सहित प्रमुख प्रतिपक्षी एमालेसहित मधेसी मोर्चाको बैठकमा राखेका थिए ।

यो पनि पढ्नुस

कांग्रेस सांसदको सुझाव : हप्ता दिन सारेर भएपनि एकै चरणमा चुनाव गरौं

कमेन्ट गर्नुहोस्

%d bloggers like this: