मानसिक रोगीको निःशुल्क उपचार : थापा

काठमाडौं, चैत २५ । स्वास्थ्यमन्त्री गगन कुमार थापाले मानसिक रोगीहरुको निःशुल्क उपचार
गरिने बताएका छन् ।

मानसिक रोग नियन्त्रणसम्बन्धी बनाउन लागिएका नीति प्रक्रिया अघि बढाइसकेको र यो नीति प्रक्रिया लागु भएपछि सबै मानसिक बिरामीको निःशुल्क उपचार गरिने उनको भनाइ छ ।

विश्व स्वास्थ्य दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले सो जानकारी दिएका हुन् ।

‘उदासीनता रोग : खुलेर कुरा गरौं’ भन्ने नाराका साथ यो दिवस मनाइएको हो ।

आर्थिक संकट, बेरोजगारी, पारिवारिक–सामाजिक द्वन्द्व र असफलताजस्ता कारणले संसारभर उदासीनता रोगका बिरामी बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संगठनकाअनुसार विश्वका ३ करोड मानिसमा उदासीनताको समस्या छ भने नेपालमा १० लाख मानिसमा यो समस्या छ ।

सहजै खुसी महसुस गर्न नसक्ने, शरीर गल्ने, छिटो थकाइ लाग्ने, आत्माहत्याको सोच आउने, सहजै ध्यानकेन्द्रित नहुनेजस्ता लक्षणलाई चिकित्सकहरुले मानसिक समस्या भनेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: