​नेपाल वायुसेवा निगमले दुईवटा वाइड बडी जहाज किन्ने

काठमाडौं, चैत २५ । नेपाल वायुसेवा निगमले अमेरिकन कम्पनी एएआरसँग दुईवटा वाइड बडी जहाज किन्ने सम्झौता गरेको छ ।

निगम र एएआरबिच आज भएको सम्झौता अनुसार पहिलो जहाज सन् २०१८ को अप्रिलसम्म र दोस्रो १८ कै मे महिनासम्ममा खरिद गर्ने भएको छ ।

सम्झौतामा महाप्रबन्धक सुगतरत्न कंसकार र एएआरका नेपाल प्रतिनिधि दीपक शर्माले हस्ताक्षर गरेका छन् ।

दुबै विमान २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको कंशाकारले बताए ।

२ सय ८० सिट क्षमताको नयाँ एयरबसमा १६ वटा बिजनेश क्लासका सिट हुनेछन् । यी जहाज आएपछि साउदीको दमाम, कोरियाको सिओल, अष्ट्रेलियाको सिड्नी र जापानको टोकियोमा उडान भर्ने तयारी नेपाल एयरलाइन्सले गरिरहेको छ । यति धेरै रकम खर्च गरेर जहाज किन्न लागेको इतिहासमै यो पहिलो पटक हो ।

कमेन्ट गर्नुहोस्