मनपरी शुल्क तत्काल रोक्नुपर्छ : सात विद्यार्थी संगठन

काठमाडौँ, चैत २५ । निजी शिक्षण संस्थाहरुले भर्नाका नाममा उठाउने गरेको मनपरी शुल्क तत्काल रोक्न सात विद्यार्थी सङ्गठनले सरकारसँग माग गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घ, केन्द्रीय कार्यालयमा आज बसेको सात विद्यार्थी सङ्गठनको बैठकले पूर्वप्राथमिक तह(मन्टेश्वरी) देखि नै विद्यार्थीहरुबाट शिक्षाका नाममा निले गरेको लाखौ रुपैयाँ तत्काल रोक्नुपर्ने माग अघि सारेका हुन् । शिक्षण संस्था भर्नाका नाममा मासिक रु एक लाखसम्म लिएकामा उनीहरुले आपत्ति जनाएका छन् ।

अनेरास्ववियुका कावा अध्यक्ष रश्मि आचार्यले सरकारले तोकेको मापदण्डलाई निजी शिक्षण संस्थाले बेवास्ता गर्दै मनपरी शुल्क लिने गरेकाले तत्काल बढी शुल्क लिने कार्य बन्द गर्न सरकारसँग माग गरिएको जानकारी गराइन् ।

उनले भनिन्, “अभिभावकको ढाड सेक्ने गरी अत्याधिक शुल्क लिने गरेका छन्, सरकारका तर्फबाट त्यस्ता मनपरी रकम असुल गर्ने कार्य नरोके हामीहरु बाध्य भएर आन्दोलनमा उत्रनेछौ ।”

निजी विद्यालयहरुले चर्को शुल्क असुली गर्ने गरेकाले अनुगमन गरी कार्वाही गर्ने निर्णय समेत लिइएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए। उनले निजी शिक्षण संस्थाहरुले स्टेशनरी सामानको समेत व्यापार गर्ने गरेको भन्दै आपत्ति जनाएका छन् ।

बैठकमा नेविसङ्घका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका कावा अध्यक्ष आचार्य, अखिल (क्रान्तिकारी)का उपाध्यक्ष विजयदेव भट्टराई, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष नीरज लबजु, तराई–मधेस विद्यार्थी फ्रन्टका मनिष मिश्रलगायतको सहभागिता थियो ।

निजी विद्यालयहरुको धमाधम विद्यार्थी भर्ना प्रक्रिया अघि बढाइरहेका बेला विद्यार्थी संगठनहरुले चर्को शुल्क असुल नगर्न चेतावनी दिएको हो । अनुगमन गरी चर्को शुल्क असुली गर्ने विद्यालयलाई कडा कार्वाही गर्ने सात विद्यार्थी संगठनद्धारा शुक्रबार जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

कमेन्ट गर्नुहोस्