कविता : ऊ खेलौना रे !

कवि: पुष्प सञ्जेल

ऊ खेलौना रे !
जसलाई सबैले खेली रहेछन्
कहिले घर, कहिले माइती,
कहिले वन ,कहिले गोठालो,
कहिले जुठा भाडा त कहिले गाईगोठ
सबैले उसलाई पेलि रहेछन् !
ऊ खेलौना रे !
जसलाई सबैले खेली रहेछन्!

ऊ दैनिक बलात्कृत हुन्छे,
ऊ दैनिक घरेलु हिंसाको सिकार,
ऊ कहिले बोक्सी त कहिले डायन
अनि सधैँ पुरुषभन्दा तलै गनिन्छे
मानौं सबैले उसलाई झेली रहेछन् !
ऊ खेलौना रे!
जसलाई सबैले खेली रहेछन् !

उसका लागि
न त सुनौलो बिहान,
न त रातको आराम नै
समाजमा उसको स्थान दोस्रो दर्जामै
न ऊ कसैको प्रिय,
न त कसैको साथी नै
सबैले उसको आवाज ठेली रहेछन् !
ऊ खेलौना रे!
जसलाई सबैले खेली रहेछन् !

ऊ संसारकि सृष्टिकर्ता तर
उसका रहरहरु कोसौं टाढा नै,
उसका आँसु बर्खाको भेल जस्तै
उसका सुख धेरै भयो हराएको,
उसको हासो एकादेशको कथा,
उसका सपना सपना मात्रै
मानौं सबैले उसलाई झेली रहेछन्!
उ खेलौना रे!
जसलाई सबैले खेली रहेछन् !

कमेन्ट गर्नुहोस्