सुर्खेतका राकमबासी भन्छन-“पानी ल्याउनेलाई भोट ”

सुर्खेत, चैत २६ । सिम्ता गाउँपालिका–६ राकमका ६१ वर्षीय रामबहादुर घर्ती आफूले जान्ने भएदेखि भेरीको पानी बोकेर पिउन थालेको दुखेसो गरे ।

बाबु, बाजेले पनि यहाँ भेरी नदीको पानी बोकेरै पिएको उनले बताए । हिउँदयाम भन्दा वर्षायाममा पिउने पानीको निकै समस्या हुने गर्दछ । वर्षायाममा भेरी नदी पूरै धमिलो हुने भएपछि कपडामा पानी छान्दै खानुपर्ने बाध्यता भएको घर्तीले गुनासो गरे ।

छिन्चु जाजरकोट सडकखण्ड यही राकमको बाटो भएर जाने भएकाले यहाँका सबै होटलमा समेत भेरी नदीकै फोहोर पानी प्रयोग हुने गर्दछ । महिनैपिच्छे फोहोर पानीका कारण झाडापखालाको समस्या देखिने गरेको उनले बताए।

होटलमा पैसा भएका मानिस आएमा मिनिरिल बोतलको पानी किनेर खान्छन् पैसा नहुने ग्राहकले भने उही भेरी नदीको पानी पिउन बाध्य हुन्छन् ।
यहाँका स्थानीयवासीले धेरै पटक केन्द्रीयस्तरका नेतादेखि जिल्लास्तरका नेता र कर्मचारीलाई समस्या बारे बताए पनि कसैले काम नगरेकोमा स्थानीय असन्तुष्ट छन् । ‘सबैले हुन्छ भन्छन्, तर काम गर्ने कोही होइनन् राकमका ५६ वर्षीय आइती पुनले दुखेसो पोखिन ।

यहाँका पाँच हजार भन्दा बढी घरधुरी भेरीको फोहोर पानी प्रयोग गर्न बाध्य भएको आइतीको भनाइ छ । जाजरकोट र सल्यानको सिमानासँग जोडिएको राकम गाउँ वर्षौ देखि हेपाइमा परेको स्थानीयले गुनासो गरे ।

सडक आयो, बिजुली आयो तर पानी आएन उनले भनिन । सुरुमा होटलमा बस्ने ग्राहकहरु राम्रोसँग बस्छन् तर, जब हामीले भेरीको पानी बोकेर ल्याएको देख्छन अनि यस्तो पानी खुवाएको भनेर गाली गर्ने गरेको आइतीले बताइन ।
नजिक खोपानीको मुहान नहुनु टाढाबाट ल्याउने पानी सानोतिनो रकमले नपुग्ने भएपछि यहाँका स्थानीयवासी खानेपानीो विकराल समस्यामा परेको स्थानीय बलबहादुर हमालले बताए ।

यसपटक जसले समस्या हल गर्छ, जनताका समस्या बुझ्ने प्रतिवद्धता व्यक्त गर्छ उसैलाई हाम्रो भोट हुन्छ । काम नगर्ने तर भोट मात्र माग्नेलाई हामी अमूल्य भोट दिदँनौं बलवहादुरले भने ।
राकमको खानेपानीको समस्या चरम भएको, स्थानीयवासी भेरीको पानी पिउन बाध्य भएको सिम्ता गाउँपालिकाका कार्यकारी प्रमुख जनक हमालले स्वीकारे ।

विस्तारै बजारिकरण हुँदै आएको राकममा राज्यले केही लगानी गरी व्यवस्थित सहरको अवधारणा ल्याए यहाँका स्थानीयवासीको जनजीवनमा निकै सुधार ल्याउन सकिने स्थानीय वुद्धीजीवीको भनाइ छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: