सरकारलाई धुलो चटाएर चुनाव चिन्ह लिने डा.भट्टराईको चेतावनी 

सुर्खेत, चैत २६ । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले तत्काल निर्वाचनसम्बन्धी कानुन संशोधन गरेर नयाँ दललाई चुनाव चिह्न दिनुपर्ने माग गरेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार पत्रकार भेटघाट कार्यक्रममा उनले संसदमा नभएको दललाई चुनाव चिन्ह नदिनु लोकतन्त्र र संविधान विरोधी भएको बताएका हुन् ।
भट्टराईले संविधान र लोकतन्त्रको आधारभूत मर्मविपरीत लुकाएर जारी गरिएको कानुन संशोधन नगरे दाहाल सरकारलाई धुलो चटाएर छाड्ने चेतावनी दिए ।
उनले भने, ‘हामी यति सशक्त आन्दोलन गर्छौ र प्रचण्ड सरकारलाई धुलो चटाएर छाड्छौं र हाम्रो चुनाव चिन्ह लिएर निर्वाचन लड्छौं ।’

तराई, मधेस, थारुको असन्तुष्टि सम्बोधन गर्नलाई दाहाल सरकार गठन भएपनि सिन्को नभाँचेको उनले आरोप लगाए ।

सरकारले सबै दललाई आफ्नो पहिचानसहित निर्वाचनमा जाने वातावरण बनाउन माग गरे । उनले सबैका असन्तुष्टि सम्बोधन गरेर एकैपटक तीनवटै तहको निर्वाचन गर्नसमेत सुझाव दिए ।
कांग्रेस, एमाले र माओवादीको सत्ताको खिचातानीले देशले अनावश्यक ढंगले दुस्ख पाइरहेको बताए । अर्को बेग्लै प्रसंगमा नेता भट्टराईले अहिले उठिरहेको राष्ट्रियताको बहसलाई इन्द्रेणी राष्ट्रवादको संज्ञा दिँदै यसलाई व्यवस्थापन नगरे मुलुक गम्भीर संकटमा फस्ने आशंका गरे ।

नयाँ शक्ति नेपालको तराई–पहाड–हिमाल अभियान अन्तर्गत कालिकोट पुगेर फर्किएका उनले कर्णालीको विकास सुस्त भएको बताए । ‘आफ्नो पालामा कर्णाली विकास आयोग गठन गरेर सक्रिय बनाएपनि अहिले त्यसलाई मृतप्रायस् बनाएको राखेको छ,’ उनले भने, ‘कर्णाली र, ६ नम्बर प्रदेशको विकासका लागि विशेष प्याकेजको आवश्यकता छ । नयाँ शक्तिले विशेष खाका ल्याउँछ ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: