नयाँ पाठ्यक्रम स्वदेशी संस्कृतिका आधारमा

काठमाडौँ, चैत २६ । मुलुकमा बढ्दै गएको वैदेशिक संस्कृतिको प्रभावलाई न्यूनीकरण गर्नका लागि अबका बालबालिकालाई स्वदेशको संस्कृति र सभ्यतालाई बुझाउने गरी पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित अम्ब्रोसिया आइडियल सेकेण्डरी स्कुलको आज आयोजित ३१औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका उपलक्ष्यमा सहभागी वक्ताले विश्वव्यापीकरणको प्रभावले स्वदेशी कला, साहित्य सङ्कटमा पर्न थालेकोमा चिन्ता व्यक्त गरिएको छ ।

वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले अबका बालबालिकालाई स्वदेशको संस्कृति र सभ्यतालाई बुझाउने गरी पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिँदै त्यसले राष्ट्रिय एकताको भावनालाई अभिवृद्धि गरी वैदेशिक संस्कृतिको प्रभावलाई कम गर्ने बताए ।

उनले देशमा दिगो शान्ति कायम गर्नका लागि राजनीतिक स्थिरताको खाँचो औँल्याउँदै विद्यालय तहदेखि नै बालबालिकालाई सङ्गीत, नृत्य तथा साहित्यका शिक्षा दिनसकेमा त्यसले समाजलाई जोड्ने र एकआपसमा सद्भाव बढाउने बताएका छन् ।

स्थानीय समाजसेवी देवेन्द्र प्रधान, त्रिविका सहप्राध्यापक डा मधुसुदन कार्की, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका उपसचिव जयराम श्रेष्ठ लगायतले अबका केटाकेटीलाई सिर्जनशील तथा व्यावसायिक शिक्षा उपलब्ध गराउनसकेमा उनीहरु शान्तिपूर्ण समाज निर्माणमा भूमिका निर्वाह गर्नसक्ने विश्वास व्यक्त गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक दीपक महर्जनले नर्सरीदेखि १० कक्षासम्म करिब एकहजार विद्यार्थीले अध्ययन गरिरहेको जानकारी दिँदै विद्यालयमा पाठ्यक्रमका अतिरिक्त सङ्गीत, भाषणकला, अभिनयलगायत विषयमा दिक्षा दिइने गरेको बताए ।

कमेन्ट गर्नुहोस्