उद्योग वाणिज्य महासंघका दुबै प्यानलबीच ४ वटा विषयमा सहमति

नेपाल उद्योग वाणिज्य महासंघको भोली सोमबार हुने चुनावमा उठेका दुबै प्यानलबीच चारवटा विषयमा सहमति भएको छ ।

दुबै प्यानलले अन्तिमसम्म सहमतिको प््रयास गर्ने बताएपनि प्रतिपषर्धा भएर चुनावमा जितेको खण्डमा केही साझा विषयमा भने सहमति खोजिने बताएका छन् ।

नयाँ दैनिक पत्रिकाले दुबै प्यानलका प्रस्तावित उम्मेदवारहरुसँग गरेको छलफलका आधारमा प्रकाशित गरेको समाचार अनुसार, वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्वय शेखर गोल्छा र किशोर प्रधानले बताएको उल्लेख छ । ‘हामीले प्रजातान्त्रिक पद्धतिलाई स्विकारेर निर्वाचनमा जानु उपयुक्त हुन्छ,’ गोल्छाले भने, ‘तर, समग्र निजी क्षेत्रको हितका लागि सहमति गर्न सकिन्छ, यसका लागि म तयार छु ।’

अर्का उम्मेदवार प्रधानले भने, ‘चुनाव आउन तीन दिन बाँकी छ, यसर्थ सहमतिको प्रयास सुरु गर्न ढिला भइसकेको छ,’ प्रधानले भने, ‘तर, म कहिले पनि सहमतिबाट टाढा भागेको छैन, अन्तिम दिनसम्मै सहमतिको प्रयास हुनेछ ।’
चारवटा विषयमा सहमति

कार्यकाल छोट्याउन दुवै पक्ष सहमत
उनीहरूले आफू वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि महासंघ कार्यसमतिको कार्यकाल छोट्याउने बताए । प्रधानले तीनवर्षे कार्यकाल लामो भएकाले त्यसलाई दुई वर्षमा छोट्याउने आफ्नो योजना रहेको बताए । त्यस्तै, गोल्छाले काम गर्न एक वर्ष नै पर्याप्त हुने बताउँदै तीनवर्षे कार्यकाललाई आफ्नै पालामा छोट्याउने प्रतिबद्धता व्यक्त गरे ।

वस्तुगतमा समान एजेन्डा
वस्तुगत उपाध्यक्षका प्रत्याशीहरूको एजेन्डा समान देखिएको छ । उनीहरूले आफ्नो मुख्य एजेन्डा नै महासंघको निर्वाचनमा वस्तुगतको मतभार (वेटेज) बढाउने, उत्पादनको ब्रान्डिङ गर्ने र निर्यात वृद्धि गराउने रहेको बताए । प्रधान प्यानलबाट वस्तुगत उपाध्यक्षका उम्मेदवार शंकर पाण्डेले महासंघ र वस्तुगत संघको संस्थागत सुधार र सुदृढीकरणमा जोड दिने बताए । वस्तुगत उपाध्यक्षका अर्का उम्मेदवार अनुपबहादुर मल्लले वस्तुगत संस्था महासंघको ‘ब्रेन’ भएको बताउँदै वस्तु तथा सेवाको निर्यात प्रवद्र्धनमा अझ बढी योगदान दिने बताए । गोल्छा प्यानललका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले मुलुकको समग्र आर्थिक विकासमा योगदान दिने बताए । महासंघका सबै पदाधिकारी उम्मेदवारको एजेन्डा समान रहेको उनको भनाइ थियो ।

६४ पदलाई ११२ को उम्मेदवारी
महासंघको आसन्न निर्वाचनमा ६४ पदका लागि ११२ जनाले उम्मेदवारी दिएका छन् । एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० सदस्यका लागि ११२ जनाको उम्मदेवारी दर्ता भएको छ । यस वर्ष अध्यक्ष पदका लागि निर्वाचन हुने छैन । महासंघले विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान बनाएको छ । यसअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणा आसन्न साधारणसभापछि स्वतः अध्यक्ष बन्नेछिन् ।

स्वस्थ प्रतिस्पर्धापछि सहकार्य
वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धीद्वय गोल्छा र प्रधानले स्वस्थ प्रतिस्पर्धी भावना बोकेर चुनावमा अघि बढेको बताए । चुनावमा ‘आरोप–प्रत्यारोप’ र ‘गालीगलौजको’ फोहोरी खेल नखेलेको बताए । वरिष्ठ उपाध्यक्षका प्रत्याशी गोल्छाले चुनावपछि पनि सहकार्य हुने बताए । ‘चुनावमा हारजित हुन्छ र त्यसलाई लिएर इगो राख्नुहुँदैन,’ उनले भने, ‘जसले जिते पनि महासंघले जित्ने हो ।’ त्यस्तै, प्रधानले चुनावी आचारसंहितालाई पनि ख्याल गर्नुपर्ने बताए ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: