धनगढीमा उपाध्यायको ‘एकल सांगितिक साँझ’ हुने

लोकेश धामी, कैलाली
देउडा गायक यज्ञराज उपाध्यायको एकल सांगितिक साँझ हुने भएको छ । यही चैत ३० गते धनगढीस्थित ओम प्यालेसमा सांगितिक साँझ हुने छ । साँगितिक साँझमा आफ्ना नयाँ पुराना डेढ दर्जन गीत गाउने बताइएको छ ।

देउडा गायक उपाध्ययले विभिन्न भाकामा गाइएका राईझुमा, डोटी काँडा, अछाम राम्रा सेरा लगायत आफ्ना पुराना चर्चित र लोकप्रिय गीतसंगै हालै गायका नयाँ गीत प्रस्तुत गर्ने बताए ।
मनोरञ्जनका साथै सुदूरपश्चिमेली संस्कृतिको संरक्षणका लागि एकल सांस्कृतिक साँझ आयोजना गरिएको उनले बताए । सुदूरपश्चिमाञ्चल साहित्य समाजले गर्न लागेको साहित्य यात्राका लागि आर्थिक सहयोग संकलन गर्नु पनि कार्यक्रम आयोजनाको अर्को उद्देश्य रहेको गायक उपाध्ययले जानकारी दिए ।

सुदूरपश्चिमको कला, संस्कृतिबारे प्रचारप्रसारका लागि साहित्य समाजले आगामी जेठ १५ गतेदेखि साहित्य यात्रा शुरु गर्दैछ । एकल साँझमा टीकट बिक्रीबाट उठ्ने रकम यात्राका लागि साहित्य समाजलाई प्रदान गरिने गायक उपाध्यायले बताए ।

सुदूरपश्चिमको संस्कृतिलाई चिनाउन यात्रा गर्न लागिएकाले आफूले सहयोग गरेको उनले बताए । सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले यहाँको कला, संस्कृतिलाई चिनाउन आयोजना साहित्य यात्रा गर्न लागिएको बताए ।

यात्रा अन्तरगत काठमाण्डांैस्थित राष्ट्रपति, प्रधानमन्त्री कार्यालय तथा प्रज्ञा प्रतिष्ठान, बिराटनगर, पोखरा, झापालगायत देशका विभिन्न सहरहरुमा कार्यक्रम गरि सुदूरपश्चिमेली संस्कृति प्रस्तुत गरिने अध्यक्ष जोशीले बताए । यस्तै नेपाली भाषीको बसोबास रहेको भारतको आसाम, सिक्कीममा पनि कार्यक्रम गरिने उनले बताए ।

हुड्के, छलिया, सखियालगायत नृत्य तथा यहाँको संस्कृति प्रस्तुत गरिने र यसले सुदूरपश्चिमेली संस्कृति चिनाउन मद्दत पुग्ने अपेक्षा लिइएको उनले बताए । यात्राले यहाँको कला, संस्कृति, साहित्यको विकाससंगै यहाँको पर्यटन विकासमा समेत मद्दत पुग्ने साहित्य समाजले जनाएको छ । अबको युग पर्यटनको युग हो र पर्यटन संस्कृति हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: