आजदेखि धनगढी प्रिमियर लिग शुरु हुँदै, ६ टीमबीच भीडन्त हुँदै

धनगढी, चैत २७ । धनगढी प्रिमियर लिगको पहिलो प्रतियोगिता आजदेखि शुरु हुन गइरहेको छ । डिपिएल नामांकरण गरिएको प्रतियोगितामा राष्ट्रियस्तरका ६ टीमले सहभागिता जनाउने भएका छन् ।

डिपिएलको पहिलो संस्करण धनगढीस्थित क्षेत्रीय प्रहरी कार्यालयको मैदानमा हुने छ ।

प्रतियोगिताको पहिलो खेल नेपाल ११ र आयोजक धनगढी ११ बीच हुने छ । उद्घाटन खेललाई च्यारिटी खेलका रुपमा घोषणा गरिएको छ । अन्य खेलहरु भोली सोमबारदेखि हुने आयोजकले बताएका छन् ।

प्रतियोगितामा ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको सिवाइसी अत्तरिया, बसन्त रेग्मी नेतृत्वको काठमाडौं गोल्डेन्स्, शक्ति गौचन नेतृत्वको रुपेन्देही च्यालेन्जर्स्, विनोद भण्डारी नेतृत्वको कञ्चनपुर आइकोनिक, शरद भेषावकर नेतृत्वको विराटनगर किंग्स् र पारस खड्का नेतृत्वको टिम चौराहा धनगढी रहेका छन् ।

लिग चरणका खेलहरु बैशाख ४ गते सकिएपछि प्ले अफका खेलहरु सुरु हुनेछन् । प्रतियोगिताको फाईनल खेल बैशाख ९ गते हुनेछ ।

कमेन्ट गर्नुहोस्