धनगढी प्रमुख बन्ने दौडमा रहेका नेताहरुको यस्ता छन् एजेण्डा

कैलाली, चैत २७ ।आगामी बैशाख ३१ गते हुने स्थानीय तहको चुनावको तिथि नजिएसँगै धनगढी उप–महानगरपालिकामा मेयरका आकाङ्क्षीहरु आन्तरिक रुपमा चुनावी प्रचारप्रसारमा जुटि सकेका छन् । तर, उनीहरुले टिकट पाउने नपाउने टुङ्गो भने अझै लाग्न सकेको छैन ।

सात नं. प्रदेशको एकमात्र धनगढी उपमहानगरपालिकाको पाँच वर्षे मेयरको कार्यकाल हत्याउन एउटै दलमा धेरै आकाङ्क्षी देखिएका छन् । आकाङ्क्षी उनीहरुले आफ्नो मुख्य एजेण्डा पनि बाहिर प्रस्तुत गरि रहेका छन् । मुख्यतः नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा लगायत दलका आकांक्षीले आफ्ना एजेण्डा बाहिर ल्याइरहेका छन् । धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसका तर्फवाट महाधिवेशन प्रतिनिधी कृष्णबहादुर महरा र नगर सभापति नृप ओड चुनावी मैदानमा अगाडि देखिएका छन् ।

महराले आफू मेयर पदमा निर्वाचित भएमा धनगढी उप महानगरपालिकामा भ्रष्टाचार रहित वातावरण सृजना गर्ने भन्दै आफ्नो एजेण्डा अघि सारेका छन् । व्यवस्थित तथा भ्रष्टाचार रहित उप महानगरपालिका नै अहिलेको आवश्यकता भएकाले आफूले यो मुद्दालाई प्रमुख बनाएको मेयरका आकाङ्क्षी महराले बताए ।
यस्तै कांग्रेसकै अर्का मेयर पदका आकाङ्क्षी नृप ओडले आफू मेयर पदमा निर्वाचित भएमा गुरु योजनाकासाथ विकासको गतिलाई तिब्रता दिने बताए । हाल यहाँ कोल्ड स्टोर देखि तटबन्ध, लगायतको ज्यादै समस्या भएकाले उक्त कार्य व्यवस्थित रुपले अगाडी बढाउने आफ्नो प्रमुख एजेण्डा रहेको दाबी गरे । साथै उनले धनगढीको सबै ठाउँमा ग्राभेल गरिने बताए ।

दलहरुले टिकट कसलाई दिने त्यो टुङ्गो लाग्न सकेको छैन । तर, पनि आकाङ्क्षीहरुले आफ्ना एजेण्डा जनतालाई सुनाउन थालेका छन् । एमालेबाट धनगढी उप–महानगरपालिकाको मेयरका लागि पूर्व सभासद नारदमुनी राना र एमाले जिल्ला सचिव रण बहादुर चन्द दावेदारका रुपमा अगाडि देखिएका छन् । आकांक्षी रानाले आफ्नो एजेण्डा भए पनि पार्टीले टिकट दिएमा मात्रै बाहिर खोल्ने बताए । चन्दले आफू मेयरमा निर्वाचित भएमा धनगढीलाई व्यवस्थित र सफासुग्घर शहरका रुपमा अगाडी बढाउने प्रमुख मुद्दा रहेको बताए । साथै उनले सार्वजनिक जग्गा तथा खोलानाला अतिक्तमण रोक्ने र यो क्षेत्रलाई पर्यटकिय हबका रुपमा विकास गर्ने बताए ।

यस्तै धनगढी उप–महानगरपालिकामा माओवादी केन्द्रबाट पाँच जनाको नाम चर्चामा छ । केन्द्रीय सदस्य एवम् दुई पटक समानुपातिक उम्मेदवार भएका जनजातिबाट राम समझ राना दाबेदारका रुपमा टिकट पाउने सम्भावना बढि रहेको बताइन्छ । मेयरका आकाङ्क्षी रानाले पार्टीको निर्णय पश्चात मात्रै आफ्ना एजेण्डा जनतामाझ अगाडी सार्ने बताए ।

धनगढी उप–महानगरपालिकामा राजनीतिक दलका नेता सँगै सुन्दर सुदूरपश्चिम अभियानका अभियान्ता उद्योगी गोपाल हमाल पनि स्वतन्त्र तर्फवाट मेयरको उम्मेदवारको चर्चामा छन् । उनले आर्थिक सम्बृद्धिलाई प्रमुख मुद्दा बनाएका छन् । अहिलेको आवश्यकता भनेको नै धनगढीलाई आर्थिक अवस्थाबाट माथि उकास्ने रहेकाले आफूले यो मुद्दालाई अगाडी सारेको उनको भनाइ छ ।

उनले आफ्नो चाहना भन्दा पनि नगरबासीको चाहनाले नै मेयरको उम्मेदवारी दिने निर्णय गरेको बताए । विगतमा विकास निर्माणका नाममा सडकमा ग्राभेल र कलभर्ट गर्ने काम मात्रै भएकाले अब त्यतिमा मात्रै सीमित नरहि अन्य क्षेत्रको विकासमा जोड दिनुपर्छ भनेर नै आफ्नो उम्मेदवारी रहने मेयरका आकांक्षी हमालले बताए ।
२०४८ मा धनगढीमा नेपाली कांग्रेसले निर्वाचन जितेको थियो भने ०५४ मा एमालेले निर्वाचन जितेको थियो ।

कमेन्ट गर्नुहोस्