आजदेखि धनगढी प्रिमियर लिग क्रिकेट

धनगढी, चैत २७ । नेपालकै पहिलो सबैभन्दा धेरै धनराशीको व्यावसायिक धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) आजतबारदेखि सुरु हुँदैछ ।

नेपालमै पहिलो पटक खेलाडी अक्सन मार्फत धनगढी क्रिकेट एकेडेमीले आयोजना गरेको खेल धनगढीस्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा हुनेछ ।
आज नेपाल ११ र धनगढी ११ बीच च्यारिटी म्याच हुनेछ । जसमा नेपाल ११ बाट राष्ट्रिय टोलीका खेलाडीहरु सहभागी हुनेछन् भने धनगढी ११ बाट सुदूरपश्चिमका स्थानीय खेलाडीहरु समावेश गरिएका छन् ।

प्रतियोगिताका आधिकारिक खेलहरु भने भोलिदेखि सुरु हुनेछ । डिपिएलमा देशभरका ६ शहरका टोलीहरुको सहभागिता छ ।

प्रतियोगिताको पहिलो आधिकारिक खेल भोलि सिआइवी अत्तरिया र काठमाडौं गोल्डेन्सबीच हुनेछ ।

२०७४ बैशाख ०९ गतेसम्म चल्ने प्रतियोगितामा जम्मा १९ खेल हुनेछन् । लिग चरणमा सहभागी ६ टोलीहरुले एकले अर्कासँग खेल्नेछन् ।
प्रतियोगितामा सिआइवी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेञ्जर्स, कञ्चनपुर आइकोनिक, बिराटनगर किंस र धनगढी टिम चौराहा सहभागी छन् ।

धनगढी टोलीको कप्तानी पारस खड्का, रुपन्देहीको शक्ति गौचन, काठमाण्डौको बसन्त रेग्मी, अत्तरियाको ज्ञानेन्द्र मल्ल, विराटनगरको शरद भेषवाकर र कन्चनपुरको बिनोद भण्डारीले गर्नेछन ।

प्रतियोगिताको उपाधी विजेताले १५ र उपविजेताले ७ लाख नगद पाउने छन् । नेपाली क्रिकेटमा यो अहिलेसम्मकै ठूलो नगद धनराशीको पुरस्कार हो । त्यस्तै हरेक खेलको म्यान अफ द म्याचले १० हजार पाउनेछन् । म्यान अफ द सिरिजलाई जगदम्बा मोटर्स र जेभी अटोमोटिभका तर्फबाट टिभिएस आरटीआर २०० सीसीको अपाचे मोटरसाइकल प्रदान गरिनेछ ।

कमेन्ट गर्नुहोस्