मकवानपुरमा सम्बन्धविच्छेद गर्ने बढे

हेटौँडा, २७ चैत । बैदेशिक रोजगारमा जाने संख्या बढेसँगै मकवानपुरमा सम्बन्धविच्छेद गर्नेको सङ्या बढेको तथ्याङ्क सार्वजनिक भएको छ ।

सानातिना विवादले पनि सम्बन्धविच्छेद हुने गरेको महिलाहरुको क्षेत्रमा काम गर्ने संस्थाहरुले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

स्थानीय निकायमा मेलमिलाप केन्द्रको व्यवस्था भएपनि वैदेशिक रोजगार, विलासिताको लागि भइरहेको अस्वस्थ प्रतिस्पर्धालगायतले पनि सम्बन्धविच्छेदको कारण बन्ने गरेको भिमफेदी गाँउपालिका मेलमिलाप केन्द्रका अध्यक्ष गोपालप्रसाद पनेरुको भनाइ छ । उनी भन्छन्– “महिला हिंसामा परेका महिलाको हकमा मेलमिलाप गराउँदा पनि कतिपय घटना बारम्बार दोहोरिने गरेका कारण अहिले महिलाले सहनुभन्दा अलग बस्नु उचित ठान्न थालेका छन्। ”
बिहे गरेर बैदेशिक रोजगारमा गएका युवाको हकमा भने महिलाहरुको आचरणले बैबाहिक सम्बन्ध विग्रिएको उनले बताए ।

“श्रीमान् विदेश गएका महिलाको हकमा सामाजिक बेथितिका कारण सम्बन्धविच्छेदका लागि आउनेको सङ्ख्या पनि बढेको छ,” उनले भने ।

चालु आर्थिक वर्षको आठ महिनामा सम्बन्धविच्छेदको लागि मुद्दा दर्ता गर्नेको सङ्ख्या बढेको हो ।
साउनदेखि हालसम्म दुई सय ११ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको उक्त अदालतले जनाएको छ । सम्बन्धविच्छेदका लागि परेका २११ वटा मुद्दामध्ये एक सय ६४ वटा मुद्दा फछ्र्यौट भइसकेको छ भने ४७ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतका श्रेस्तेदार अनन्तराज मरासिनिले जानकारी दिए ।

जसमध्ये ६३४ वटा मुद्दा फछ्र्यौट भइसकेका छन् भने पाँच सय ४८ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको श्रेस्तेदार मरासिनीले बताए । रासस

कमेन्ट गर्नुहोस्