यसकारण स्थगित भयो मन्त्रीपरिषद बैठक

काठमाडौं, चैत २७ । मन्त्रिपरिषद् बैठक आज पनि नबस्ने भएको छ । आज अपरान्ह ३ बजेका लागि तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तिम समयमा स्थगित गरेका हुन् ।

सरकारले तयार गरेको संविधान संशोधनको नयाँ प्रस्तावमाथि दलहरुबीच सहमति जुटाउन बाँकी भएकाले बैठक सरेको हो ।

मन्त्रीपरिषद् बैठक बस्नु अगावै प्रधानमन्त्री प्रचण्डले नयाँ संशोधन प्रस्ताव टुङ्गो लगाएर दर्ता गर्नको लागि कानूनमन्त्री अजय शंकर नायकसँग छलफल गर्ने तयारी गरेका छन् । नयाँ विधेयकमा अन्य दलको पनि सहमति जुटाउनु पर्ने भएकाले प्रधानमन्त्रीले बैठक स्थगित गरी छलफल गर्न लागेका हुन् ।
संसद बैठक आइतबार दिउँसो बस्दैछ ।

उपप्रधानमन्त्री विमलेन्द्र निधी र कमल थापाको वरियता विवादका कारण झण्डै १ महिनादेखि मन्त्रीपरिषद बस्न सकेको छैन । लामो समय मन्त्रीपरिषद बैठक नबस्दा प्रहरी महानिरीक्षक नियुक्ति सहित ५३ वटा भन्दा बढी महत्वपूर्ण विषय मन्त्रीपरिषदमै अड्किएका छन् ।

नयाँ संशोधन प्रस्तावमा विपक्षी दलको पनि सहमति जुटाउने तयारी भइरहेको कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए । संसदमा पेश भएको संशोधन प्रस्तावमा सहमति जुट्न नसकेपछि प्रधानमन्त्रीले त्यसलाई फिर्ता लिएर नयाँ विधेयक दर्ता गर्ने तयारी गरेका हुन् ।

नयाँ विधेयकमा सीमांकनबाहेक सरकारी कामकाजको भाषा, मातृभाषा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषयलाई संशोधन गर्ने उल्लेख छ ।

प्रस्तावमा भाषा आयोगको सिफारिसमा केही भाषालाई सरकारी कामकाजको भाषाका रुपमा समावेश गर्ने, नेपालीसंग विवाह गरेकी विदेशी महिलाले आफ्नो देशको नागरिकता त्याग्ने प्रक्रिया शुरु गरेपछि प्रचलित कानून बमोजिम वैवाहिक अंगिकृत नागरिकता पाउने, राष्ट्रियसभामा प्रतिनिधित्व गराउँदा जनसंख्याका आधारमा पनि गर्ने लगायत कुरा उल्लेख छ ।

सीमांकनको विषय संघीय आयोगमार्फत टुंग्याउने गरि मोर्चाका अरु माग पूरा गर्नेगरि विधेयक तयार भएपछि मोर्चाले पनि समर्थन गर्ने र एमालेले पनि सीमांकन बाहेकका विषयमा अवरोध नगर्ने बचन दिइसकेकाले सत्तारुढ दल संविधान संशोधन विधेयक पारित हुने आशामा छन् ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: