माधवआनी खण्डकाव्य विमोचित

विराटनगर । नेपाली पद्य साहित्य यात्रामा २०४५ सालमा विलौनै विलौना लघुकाव्य प्रकाशनसँगै देखिएका कवि हरि कट्टेलको छैटौँ कृति माधवआनी खण्डकाव्य हालै विराटनगरमा एक कार्यक्रमकाबीच सार्वजनिक भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.विष्णुविभू घिमिरे र प्राज्ञ श्रवण मुकारुङ्ले संयुक्त रुपमा विमोचन गरेको उक्त कृति उपर सो अवसरमा समालोचक प्राडा. भीम खतिवडाले टिप्पणी गरेका छन् ।

उक्त अवसरमा कृति उपर बोल्दै उनले माधवआनी खण्डकाव्यकालागि खण्डकाव्य मात्र नभर्इ कला र विषयवस्तुका दृष्टिले समेत जोडदार रहेको र शाष्त्रीय छन्दमा माधव घिमिरेलाई पढ्ने जो सुकैले कवि कट्टेललाई खोजेर पढ्नु पर्ने अवस्था आएको बताए ।

कार्यक्मका प्रमुख अतिथि विष्णु विभू घिमिरेले आफूले खण्डकाव्य माधवआनी जातीय धार्मिक एवं सास्कृतिक सद्भावको बिम्बका रुपमा पाएको बताए । कृतिमा कविले चिन्तन र दर्शन समेतको समायोजन गर्न सकेकोमा उनले कवि कट्टेललाई बधाइ समेत दिए ।

माधवआनीमा शहरको कोलाहल र आडम्वरी धनाढ्य संस्कृतिबाट असन्तुष्ट भर्इ वैरागिएको हिन्दू भिक्षु माधव र बाैद्ध भिक्षुणी आनीका बीचको हलेसी महादेवका मन्दिरमा भेट भएपछि भएको आत्मीक प्रेम प्रसङ्ग छ ।

यसमा कविले यौन मनोबिज्ञानको साथै हिमाली तथा पहाडी सौन्दर्य , संस्कृति र सभ्यताको खुलेर वर्णन गरेको पाइन्छ ।

राष्ट्रकवि माधव घिमिरे, डा रामप्रसाद ज्ञवाली र प्रा डा गोपाल भण्डारीको समालोचकीय दृष्टिकोण रहेको उक्त कृतिलाई प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले प्रकाशनमा ल्याएको हो ।

कुल ८० पृष्ठ रहेको उक्त कृतिमा बिभिन्न चार शाष्त्रीय छन्दमा लेखिएका ३६३ श्लोकहरु छन् । यस कृतिको मूल्य रु १८० रहेको छ ।

सोलुखुम्वुका यी छन्दोवद्व कविका यस अघि विलौनै विलौना (लघुकाव्य) ,अनावृत आकृति (कविता सङ्ग्रह) , मुटु टुक्रिएपछि (मुक्तक संग्रह) एवं काँडा टेकेर फूलका कुरा र आँखामा अल्झिएका आँखाहरु (गजल संग्रह) प्रकाशित छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: