प्रकाश दाहालले भारतीय नेता कोश्यारीलाई बालुवाटार गेटमै रोकेपछि…

काठमाडौँ, चैत २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिव प्रकाश दाहालले कुटनीतिक मर्यादा ख्याल नराखी बालुवाटार जान खोज्ने एक उच्च भारतीय नेतालाई रोकिदिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र र नेपाल विज्ञका रुपमा चिनिएका भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी सिधैँ प्रधानमन्त्रीसँग भेट्न खोज्दा बालुवाटार प्रवेश गर्नबाटै रोकिएका हुन् ।

ढिलो गरी एभरेष्टदैनिक डटकमले प्राप्त गरेको सूचनाअनुसार कोसियारीले मंगलबार सिधैँ प्रधानमन्त्री प्रचण्डलाई भेट्न खोजेका थिए तर, कुटनीतिक प्रणालीबाट नआएको भन्दै स्वकीय सचिव दाहालले कोसियारीलाई प्रधानमन्त्रीसँग भेट्न अनुमति नदिई फर्काइदिएका हुन् ।

कोसियारीका विश्वासपात्र एक नेपाली पत्रकारले दाहाललाई टेलिफोन गरी प्रधानमन्त्रीसँग तत्काल भेट्ने समय मागेका थिए । तर, प्रकाशले तत्काल भेट्न असम्भव रहेको जवाफ दिए, नेपालमा कुटनीतिक भेटघाट गर्नको लागि कुटनीतिक निकायकै च्यानलबाट अाउनुपर्ने र त्यसरी पद्धतिबाट अाए प्रधानमन्त्रीलाई भेट्न दिने बताएपछि कोसियारीले मंगलबार बालुवाटार प्रवेश गर्नै नसकेको स्रोतले जनायो ।

कोसियारीलाई स्वकीय सचिव दाहालले ‘प्रधानमन्त्रीले सबै व्यक्तिसँग भेट्नुहुन्छ, झन् तपाईहरु जस्तो नेपालीलाई माया गर्ने नेताहरुलाई नभेट्ने कुरै हुँदैन तर हाम्रो नेपालको कुटनीतिक निकाय छ, उक्त निकायमा गएर परराष्ट्र मन्त्रालयको आधिकारीक पत्रसहित आउनुस् अनि भेट हुन्छ’-  दाहालको भनाई उधृत गर्दै स्रोतले भन्यो ।

दाहालले उक्त आग्रह गरेपछि कोसियारीले भोलिपल्ट दाहालले भनेजस्तै भारतीय दुतावास मार्फद आएर प्रधानमन्त्रीलाई भेट गरे ।

स्वकीय सचिव दाहालले कोसियारीको भेटको चाँजो मिलाउन खोज्ने नेपाली पत्रकारलाई पनि नेपालमा रहेको परराष्ट्र मन्त्रालय र कुटनीतिक च्यानल बारेमा जानकारी राख्न सुझाव दिएको स्रोतले जनायो ।

नेपालका कार्यकारी प्रमुखहरुलाई सिष्टम विना भेट गर्दा पदीय मर्यादा मिचिने गरेको र त्यसले नकारात्मक प्रभाव पार्ने भएपछि दाहालले प्रधानमन्त्रीलाई भेट्न खोज्ने कुटनीतिक व्यक्तिहरुलाई परराष्ट्र मार्फद नियम पुर्याएर आउन आग्रह गरेका छन् ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: