आमाबाबुका नाममा एम्बुलेन्स खरिद गर्न रेडक्रसलाई रू दश लाख

सिन्धुली, चैत २७ । नेपाल रेडक्रस सोसाइटी सिन्धुलीलाई एम्बुलेन्स खरिद गर्न एक व्यक्तिले रु १० लाख सहयोग प्रदान गरेका छन् । सिन्धुलीको स्टल बजारमा सङ्गम होटल सञ्चालन गर्दै आएका बेलबहादुर बसेलले आमाबुबाका नाममा एम्बुलेस खरिद गर्न रेडक्रसलाई रु १० लाख सहयोग प्रदान गरेका हुन् ।

सिन्धुलीमाढीमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सभाको ४६ औं महाधिवेशनको उद्घाटनको अवसरमा बसेलले सभामुख ओनसरी घर्तीमार्फत जिल्ला सभापति अशोक श्रेष्ठलाई चेक प्रदान गरेका हुन् ।
सभामुख घर्तीले सामाजिक हितका लागि बेलबहादुर बसेलले गरेको यस्तो सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उच्च मूल्याङ्कन गरेको बताएका छन् ।

मानवीय हितका लागि सहयोग गर्नु सौभाग्यको विषय भएको उनले भने ।

रकम हस्तान्तरणमा दाता बसेलले माता छलिमाया र पिता हर्कबहादुरका नाममा आफूले सहयोग गरेको बताए ।

उनका अनुसार पिता हर्कबहादुर डाँडीगुराँसेमा एम्बुलेन्सको अभावमा समयमा नै उपचार नपाएपछि २०५६ साल फागुन ५ गते संसार छाडेर गएको इतिहाँस कोट्याएका थिए ।

“एक गरिब परिवारमा हुर्केको र हलो जोतेर आफूलाई हुर्काउनका लागि सहयोग गर्ने पिता र आफू भोकै बसेर आफूलाई आहारा खुवाउने माताको नाममा एम्बुलेन्स किन्न सहयोग गर्न पाउँदा आज उहाँको आत्माले शान्ति पाएको महसुस गरेको छु” बसेलले भने ।

कमेन्ट गर्नुहोस्