न्यायालयविरुद्धको अभिव्यक्तिप्रति कांग्रेस महामन्त्री कोइरालाले मागे माफी

काठमाडौं, चैत २७ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले न्यायलयप्रति आफ्नो सम्मान रहेको बताएका छन् ।

शनिबार न्यायालयलाई संसदको मातहतमा राख्नुपर्ने भनि अभिव्यक्ति दिएका कोइरालाले त्यसको २४ घण्टा नबित्दै आफ्नो अभिव्यक्ति सच्याउँदै संविधानले निर्धारित गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार र कर्तव्यप्रति आफू सचेत रहेको बताएका हुन् ।

आइतबार उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– शक्ति पृथकीकरणको सिद्धान्त बमोजिम नेपालको संविधानले निर्धारित गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार र कर्तव्यप्रति म उत्तिकै सचेत रहेको छु । कार्यपालिकाको क्षेत्राधिकार बारे म जति सुस्पष्ट छु, उत्तिकै सम्मानीत न्यायालयको उच्चतम गरिमालाई कदर गर्नु पर्ने दायित्वका प्रति पनि संवेदनशील रहेको जानकारी गराउन चाहन्छु ।’

उनले आगामी दिनमा कुनै पनि टिप्पणी न्यायालयको उच्चतम गरिमालाई केन्द्रमा राखेर र लोकतन्त्रको मूल्य बमोजिम नै हुने प्रष्ट पार्दै स्थापनाकाल देखि नै पार्टीले लोकतन्त्रको विश्वव्यापी मूल्य, मान्यताका प्रति विश्वास राख्दै आएको स्मरण समेत गरेका छन् ।

शनिबार बिराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कोइरालाले व्यवस्थापिकाको अण्डरमा न्यायपालिका नरहँदा क्षेत्रअधिकार मिच्ने काम भएको भन्दै शक्ति सन्तुलनका लागि पनि व्यवस्थापिकाको अण्डरमा न्यायपालिका राख्न आवश्यक रहेको बताएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: